तम्घास -गुल्मी_, पुस १४ गते । गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । यही पुस ९ गते र १२ गते एक बिरामीलाई डायलासिस सेवा प्रदान गरेसँगै अस्पतालमा अब नियमितरुपमा सेवा सुरु हुने भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका–८ का देविराम खनालको अस्पतालले सफल डायलासिस गरेको हो ।
गुल्मीमै डायलासिस सेवा सुरु भएसँगै सेवा लिनका लागि पाल्पा, बुटवललगायत स्थानमा जानुपर्ने गुल्मेलीको बाध्यता अन्त्य हुने भएको छ । डायलासिस सेवाका लागि अस्पतालमा पाँच मेसिन छन् । त्यसमध्ये तीन वटासम्म नियमित सञ्चालन गर्न सकिन्छ भने बाँकी दुई वटा वैकल्पिकरुपमा राख्नुपर्ने हुन्छ । डायलासिस सेवाका लागि अस्पतालमा एक विशेषज्ञ डाक्टर र एक नर्सको व्यवस्था गरिएको छ ।
एक बिरामीले हप्तामा दुई पटक डायलासिस गराउनुपर्छ । एक पटकमा झण्डै पाँच घण्टा लाग्छ । अस्पतालमा हप्तामा नौ जनालाई डायलासिसको सेवा प्रदान गर्न सकिने अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिनुभयो । डायलासिस गर्ने जनशक्ति थप गर्नसकेमा सोही सामग्रीबाट दुई वा तीन सिफ्टमा सेवा दिन सकिने र त्यसबाट अधिकतम बिरामी लाभान्वित हुने अर्यालको भनाइ छ ।
नेपाल सरकारले एक पटक डायलासिस गराएको दुई हजार पाँच सय दिने गरेको छ । गुल्मी अस्पतालले स्वास्थ्य सेवा विभागबाट डायलासिस सेवाको अनुमति नपाएकाले उक्त सुविधा पाएको छैन । खनालको सफल उपचार गरेसँगै अस्पतालका डायलासिस गर्ने सामग्रीलगायत सबै प्राविधिक पक्ष ठीक भएको प्रमाणित भएकाले अब आधिकारिकरुपमै विभागबाट पत्र आउने अर्यालको भनाइ छ ।
सो अस्पतालमा डायलासिस गराएका खनालले गत वर्षको माघ १७ गतेदेखि काठमाडौँमा डायलासिस गराउन सुरु गर्नुभएको हो । तीन महिना अगाडिबाट पाल्पाबाट सेवा लिएका खनाल अब जिल्लाकै अस्पतालबाट सेवा लिने पहिलो बिरामी बन्नुभएको छ । पहिलो बिरामी भएकाले खनालको उपचार गुल्मी अस्पतालले निःशुल्करुपमा गरेको छ । रासस