• १० मंसिर २०८१, सोमबार

मन्दोदरी र मार्क्सको नदेखिएको पाटो

blog

विसं १९९९ असोज ५ गते महोत्तरी जिल्लाको बिजलपुरामा जन्मनुभएका पोखरेल   रामजीप्रसाद उपाध्याय (राप्रउ) को लेखकीय यात्रा ‘कथा’  (पर्वत सामयिक सङ्कलन–२०२५)बाट प्रारम्भ भएको देखिन्छ । त्यसपछि उहाँका फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकामा मात्र सीमित रहन्छन् । एक सिद्धहस्त लेखक, चिन्तक, अनुसन्धाता, प्रखर विद्वान्, समाज, संस्कृति र साहित्यका अध्येता पोखरेल फुटकर रूपमा प्रकाशन भइरहे पनि ठोस कृतिमा आउन निकै समय लागेको देखिन्छ । 

चार दशकभन्दा लामो जागिरे जीवनमा सग्लो कृति प्रकाशन गर्नेतर्फ चासो राखिएको देखिँदैन । एकैचोटि विसं २०६२, २०६३ हुँदै २०८० असारमा आइपुगेर तेस्रो कृति देखा पर्छ, ‘मन्दोदरीदेखि माक्र्ससम्म’ । समाज, संस्कृति र साहित्यमाथि गहन विमर्श गरेर लेखिएको यो कृति समकालीन लेखन परम्परामा पृथक् पहिचान स्थापना गर्न सफल रहेको छ । यहाँभित्र भएका बहस, विमर्श र परीक्षणहरू संवेदना र परिकल्पनाबाट परिलक्षित छैनन् । शास्त्रीय प्रमाण, पुरातात्त्विक परीक्षण र विज्ञानसम्म तर्कका आधारमा व्याख्यायित तुल्याइएका छन् । अनुभूति कम, तर्क र विश्लेषण यथेष्ट छन् ।  दर्शन, साहित्य र इतिहासमा विशेष रुचि राख्नुहुने, पोखरेलद्वारा लिखित ‘मन्दोदरीदेखि माक्र्ससम्म’ पाँच दशकभन्दा लामो चिन्तन र साधनाबाट दार्शनिक अवधारणामा तयार पारिएको कृति हो । पाँच खण्डमा विभाजित यो कृतिमा आफ्नो पूर्वकथनसहित, मदनमणि दीक्षितको मन्तव्य र अनुव्रmमणिका सँगसँगै एक परिशिष्टसमेत प्रस्तुत गरिएको छ । 

‘साहित्य र संस्कृति’ (२०६२),‘सर्वधर्म समभाव’ (२०६३) पछि एक ठोस र सङ्ग्रहणीय कृतिका रूपमा देखापरेको ‘मन्दोदरी देखि माक्र्ससम्म’ले विश्वेश्वरप्रसाद कोइरालाको कृतित्व र मदनमणि दीक्षितको ‘माधवी’ र ‘भूमिसुक्त’ माथि विशेष दखल राख्ने प्रयास गरेको देखिन्छ । कुल २६१ पृष्ठको यो कृतिमा बिपी कोइरालाको राजनीतिक उँचाइ सँगसँगै उहाँको सांस्कृतिक–साहित्यिक पाटोको कदर गर्दै एक भिन्न समालोचकीय छवितर्फ पनि इङ्गित गरिएको छ । बिपी कोइरालाको त्यो समालोचक तस्बिर ‘जेल जर्नल’ मा भेटिन्छ । बिपी कोइरालाको गीता दर्शनतर्फको बुझाइलाई युद्ध दर्शनको चरमोत्कर्षतामा पु¥याएर त्यसबाट उत्पन्न परिणति बाहिर निस्कन नसकेको यथार्थ कोइरालाभित्रै अनुत्तरित रहेको देखिन्छ । पोखरेलले बिपी कोइरालाको स्वतन्त्रताप्राप्ति तर्फको चेत र लोकतान्त्रिक आन्दोलनप्रतिको निष्ठालाई कुशलतापूर्वक विश्लेषण गर्नुभएको छ भने कोइरालाको गीता भाष्यमाथि निर्मम प्रहार गर्न चुक्नुभएको छैन । आफूलाई खरो प्रकृतिको व्यक्ति ठह-याउनु हुने राप्रउले बालकृष्ण पोखरेलप्रति आफूले गरेको व्यवहारको ‘रियलाइजेसन’को सन्दर्भ कम रोचक र रोमाञ्चकारी छैन । यो परिघटना ओझेलमा परेका लोकनाथ पोखरेलको खोजीको कथाबाट प्रराम्भ हुन्छ । मध्यकालीन कवि लोकनाथ (जन्म विसं १९३३– निधन ?) को ‘लोकमञ्जरी’ सम्मको प्रकरणमा पुग्नुहुने राप्रउले पृथ्वीनारायण शाह, जङ्गबहादुर कुँवर वा ताना शर्मा, घनश्याम राजकर्णिकार र जीवा लामिछानेको नियात्राको कथा उल्लेख गर्नसमेत बिर्सनुभएको छैन । 

प्रस्तुत कृतिमा जातीय मुद्दा, लोकतन्त्रमा देखा परेको विचलन, कम्युनिस्ट शैलीमा देखा परेको स्खलनता, मुलुकमा देखा परेको व्याप्त बेथिति, राजनीतिक, सामाजिक र धार्मिक सहिष्णुतामा उत्पन्न खल्बलीतर्फ प्रहार गर्दै प्राचीन कालकी नारी विदुषीको महत्ता र विशिष्टतामाथि विहङ्गमा दृष्टि पु¥याउँदै ‘मन्दोदरी’ माथि न्याय गर्न आइपुग्नुभएको छ । 

रामायण र महाभारतका प्रमुख नारी पात्रहरूमा अहिल्या, सीता, तारा, मन्दोदरी, कुन्ती, द्रौपदी आदिको भूमिका उल्लेख्य रूपमा चर्चा भए पनि मन्दोदरीलाई केवल रावणपत्नीको रूपमा सीमित गरिएको हुँदा राप्रउले मन्दोदरीको आदर्श र सात्त्विक पक्षलाई प्राथमिकता दिने क्रममा मन्दोदरीलाई केन्द्रबिन्दुमा राखेर कृतिको नामकरणसित जोड्दै न्याय गर्ने कोसिस गर्नुभएको छ । माक्र्सको सन्दर्भ चाहिँ वर्तमान समयमा देखा परेको कम्युनिस्टको जत्थालाई गहन रूपमा माक्र्स बुझ्न र अनुसरण गर्न ती अनुयायीलाई ध्यानाकर्षण गर्ने प्रयास हो । मन्दोदरीको सन्दर्भ चाहिँ पौराणिककालकी सीता, अहिल्या, गार्गी मैत्रेयी वा अनुसूयाहरूको आदर्श चरित्रमाथि व्याख्या गरिँदै आएको छ । मन्दोदरीको निष्ठा र आदर्शचरित्रलाई ओझेलमा पार्ने प्रयास भइरहेको छ । तसर्थ यसबेला अनपेक्षित र ओझेलमा परेकी ‘मन्दोदरी’ र विश्व कम्युनिस्ट आन्दोलनका प्रणेता माक्र्स बुझाइमा देखापरेको स्खलनतातर्फ परिलक्षित दुवै यी पात्रलाई जोडेर राप्रउले एक रोमाञ्चकारी इतिहासको प्रस्थानबिन्दु तय गर्नुभएको स्विकार्न सकिन्छ । 

समाज, संस्कृति र अध्यात्मलाई परख गर्ने क्रममा लेखकले वैदिक मन्त्रको महत्तालाई भौतिकवादी दार्शनिक माक्र्सको चिन्तनधारामा पर्न गएको प्रभावबारे सुन्दर ढङ्गबाट विश्लेषण गर्नुभएको छ । जुन कुरा नेपालका कम्युनिस्टलाई पाच्य हुने छैन । तथापि राप्रउले उठाउनुभएको यो जोखिमको सराहना गर्नै पर्छ । वैदिक मन्त्रले जीवन र जगत्लाई मनन गर्न मद्दत गर्छ । राप्रउले प्रारम्भमै भन्नुभए जस्तै ब्रह्माण्डका सम्पूर्ण पदार्थ र जीवात्माहरू एकअर्काको गुणधर्मबाट निर्मित छन् भन्ने सिद्धान्त ती मन्त्रोच्चारणबाट परिप्रेक्ष्यित छन् । अठारौँ शताब्दीका बहुव्याख्यायित माक्र्स वैदिक दर्शनको सनातन ऊर्जाबाट प्रेरित रहेका बुझिन्छन् । यसलाई राप्रउले मिहिन ढङ्गबाट मनन गर्नुभएको देखिन्छ ।  समाज, संस्कृति र साहित्य विमर्शको दस्ताबेज भनिएको यो गन्थमा बिपी कोइराला, मदनमणि दीक्षित, डा. जगमान गुरुङ, डा. चैतन्य मिश्र, पृथ्वीनारायण शाह, राजा महेन्द्र, प्राचीन नारी, सतीगमन, सत्असत्, बाहुनवाददेखि ‘माक्र्स र मन्दोदरी’का सेरोफेरोमा कृतिविशेषले परिक्रमारत रहनुमा इतिहासका महान्तम पात्रमाथि हुने गरेका दुराशयको चिरफार गरिएको छ । पौराणिक युगकी आदर्श नारी पात्र मन्दोदरी र अठारौँ शताब्दीका भौतिकवादी दार्शनिक माक्र्सलाई समकालीन बौद्धिक जगत्ले विवेकपूर्ण ढङ्गबाट पहिल्याउन नसक्नुमा यसका रहस्यहरू केन्द्रित छन् । 

राप्रउले प्रस्तुत कृतिमा फरक धारका दुई संवादात्मक अंशलाई समेटनुभएको छ । आन्द्रइ ग्रोमको र हेनरी किसिन्जरको संवादको प्रसङ्ग कूटनीतिक मर्यादामा आधारित छ, त्यहाँ उल्लेखित विचारहरूले बसुधैव कुटुम्बकम्लाई विशेष प्राथमिकता दिएको देखिन्छ । शोधकर्ता सुजित मैनालीले राप्रउसित लिनुभएको अन्तर्वार्ताको निष्कर्ष चाहिँ कम्युनिज्म साम्यवाद होइन, समुदायवाद हो । राप्रउले दिनुभएको यस्ता अनेक सटिक मान्यतालाई स्वीकार गरेर अगाडि बढ्ने हो भने बिपी कोइराला होइन बिप्र कोइराला हुनुपर्ने देखिन्छ । समग्रमा कृति पठनीय छ, राप्रउको खोज र अनुसन्धान अनुकरणीय छ ।   

Author

महेश प्रसाई