• २ माघ २०८१, बुधबार

बागलुङमा हनुमान नाच

blog

हनुमान नाच प्रदर्शन गर्दै बागलुङका युवा । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

बागलुङ, पुस १२ गते । नेवार समुदायमा लोकप्रिय हनुमान नाचको संरक्षणमा पछिल्लो समय बागलुङका युवाले सक्रियता देखाएका छन् । हनुमान नाच नेवार समुदायको पुरानो मौलिक कला संस्कृति हो । 

युवा कला संस्कृतिको संरक्षणमा जुटेपछि आजकल मेला, पर्व र महोत्सवहरुमा हनुमान नाच प्रदर्शन गर्न थालिएको छ । बिहिबारदेखि सुरु भएको सातौं बागलुङ महोत्सवमा युवाले हनुमान नाच देखाउँदै बजार परिक्रमा गरेका छन् । महोत्सवको उद्घाटन गर्न आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले रुचिका साथ हनुमान नाचको अवलोकन गर्नुभयो । बजारमा निकालिएको र्‍य ालीमा धेरैको आँखा पनि हनुमान नाचतिरै थियो । युवाहरुको समूह हनुमानको भेषमा पहिरिएर नाच्दा बजारमा रौनक छाएको थियो । 

झ्याली र मृदङ्गाको तालमा हनुमानको भेष पहिरेर नाच्ने गरिन्छ । ९ जोडी कलाकारले जामा लगाएर खुट्टामा छमछम बज्ने चाप, सिमालीको पुच्छर, हातमा लौरो समातेर एकआपसमा सङ्गीतको तालमा लौरो जुझाउँदै नाच्दा दर्शकहरु आकर्षित भएका थिए । 

पूजाविधि गरेर मात्र हनुमान नाच देखाउने प्रचलन भए पनि विहिबार महोत्सवका पाहुनाहरुलाई देखाउन हनुमान नाच प्रदर्शन गरिएको हनुमान नाच संरक्षण परिषद् बागलुङका उपाध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो । 

हाम्रो कला र संस्कृति संरक्षण गर्ने दायित्व युवापुस्ताको भएकाले हनुमान नाच संरक्षणमा युवाहरुलाई अघि सारेको हनुमान नाच संरक्षण परिषद् बागलुङका अध्यक्ष तिर्थ श्रेष्ठले बताउनुभयो । "हाम्रो पुरानो कलाको संरक्षण गर्ने दायित्व हाम्रै हो," श्रेष्ठले भन्नुभयो, "हाम्रो कला संस्कृतिको संरक्षणको जिम्मेवारी  युवाहरुको काँधमा छ ।" हनुमान नाचलाई करिब तीन शताब्दी पुरानो लोकसंस्कृतिका रुपमा लिने गरिन्छ । हनुमान नाच लोप हुँदै जान थालेपछि युवा पुस्तामा संस्कृति हस्तान्तरणका लागि तालिम र प्रशिक्षण दिने गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

"हनुमान नाच हाम्रो सांस्कृतिक पहिचान हो । यसलाई जोगाइ राख्ने र पछिल्लो पुस्तामा हस्तान्तरण गर्न आवश्यक ठानेर युवाहरुलाई तालिम र प्रशिक्षण सञ्चालन गर्ने गरेका छौं," उहाँले भन्नुभयो, "मौलिक संस्कृतिका रुपमा रहेको हनुमान नाच संरक्षणमा युवाहरुले चासो दिन थालेपछि विशेष कार्यक्रमहरुमा प्रदर्शन गर्न सक्ने भएका छौं ।"

बेलाबखतमा बजारमा आयोजना हुने मेला महोत्सवले नाचको महिमा, महत्व र कला नयाँ पुस्तामा हस्तान्तरणका लागि टेवा पुगेको हनुमान नाच संरक्षण परिषद्का उपाध्यक्ष राजभण्डारीले बताउनुभयो । बिहीबार प्रदर्शन गरिएको हनुमान नाचमा १२ देखि १४ वर्षभित्रका युवाहरु सहभागी भएको उहाँले बताउनुभयो । "हनुमान नाचका धेरै ताल छन्, पूजा विधि गरेर मात्र नाच देखाउनुपर्दछ", उहाँले भन्नुभयो, "पूजाविधि नगरी सबै ताल देखाउन नमिल्ने भएकाले महोत्सवका अवसरमा हामीले नमस्ते ताल, छ ताल र बाह्र ताल मात्र देखाएका हौं ।"

हनुमान नाचमा कलाकार, वाद्यवादक, पुजारी, मुख्य (प्रधान केजी) व्यवस्थापक आदि गरी झण्डै ८० देखि १०० जनाको समूहको आवश्यक पर्ने उहाँले बताउनुभयो । हनुमान नाच सिक्न र नाच्न युवा पुस्ताले रुचि देखाउन थालेको उहाँले बताउनुभयो । "नाचको संरक्षण र युवा पुस्तामा सीप हस्तान्तरणका लागि युवालाई तालिम र प्रशिक्षण दिने गरेको छु," उहाँले भन्नुभयो ।