• ८ जेठ २०८१, मङ्गलबार

सबै जिल्लामा समाजवादी मोर्चा पुग्ने

blog

काठमाडौँ, पुस १२ गते । चार दल सम्मिलित समाजवादी मोर्चा, नेपाल ७७ वटै जिल्लामा गठन हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मोर्चाको बैठकले यसअघि नै गठन भएका ४७ जिल्लासहित बाँकी जिल्लामा पनि मोर्चा गठन गर्ने निर्णय गरेको हो । मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा छन् ।   

एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले पुस मसान्तभित्र सबै जिल्लामा मोर्चा गठन गर्ने निर्णय भएको बताउनुभयो । “माघ महिनाभित्र सहरी क्षेत्र र सम्भव हुने जिल्लाहरूमा बृहत् सन्देश सभा गर्ने, माघ पहिलो वा दोस्रो साताभित्र मोर्चाका शीर्ष नेतृत्व सहभागी भई बृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ,” हमालले भन्नुभयो, “आगामी माघ १६ गते (सहिद दिवस) का दिन विशेष कार्यक्रम आयोजना गरिने छ । यसको मोडलबारे सचिवालय बैठक बसेर तय गरिने छ ।” समाजवादी मोर्चाले यसअघि सातै प्रदेशमा अन्तर्क्रिया गरेर चार पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षित गरेको थियो । 

बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई अदालतबाट पक्राउ पुर्जी जारी गर्नु गलत भएको निष्कर्ष निकालेको नेकपाकै प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले बताउनुभयो । तत्कालीन सरकारसँग तीनबुँदे सहमति भई मुद्दा फिर्ता लिने, बन्दी रिहा गर्ने सहमति भएकाले अदालतबाट पुनः पक्राउ पुर्जी जारी गर्नु ठिक नभएको नेताहरूले धारणा राखेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पक्राउ पुर्जी जारी गरेको विषय राजनीतिक मुद्दा भएकाले यसको समाधान राजनीतिक रूपमै निकाल्नुपर्ने भनिएको छ ।”

बैठकमा नेताहरूले आआफ्नो रिपोर्टिङ र धारणा राख्दै मोर्चा गठनले पार्टी पङ्क्ति र राजनीतिक वृत्तमा सकारात्मक सन्देश दिएको निष्कर्ष निकालेको विश्वकर्माले बताउनुभयो । “अहिले परिस्थितिको विश्लेषण भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीलगायत परिवर्तनको रक्षा गर्दै प्रतिक्रियावादीबाट भइरहेका षडयन्त्रको प्रतिवाद गर्ने भनिएको छ,” उहाँले भन्नुभयो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोर्चाको काँधमा धेरै ठुलो जिम्मेवारी आएको उल्लेख गर्नुभएको विश्वकर्माले बताउनुभयो । “मोर्चाको काँधमा धेरै ठुलो जिम्मेवारी छ । त्यसमा अहिलेको उपलब्धिको रक्षा गर्ने सन्दर्भमा र चुनौतीलाई पार गर्ने सवालमा उत्तिकै महत्वपूर्ण छ,” प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै विश्वकर्माले भन्नुभयो । प्रधानमन्त्रीले आफ्नो एकवर्षे कार्यकाल उपलब्धिमूलक भएको चर्चा गर्दै मोर्चाले समेत साथ दिनुपर्ने बताउनुभएको विश्वकर्माले जानकारी दिनुभयो ।

समाजवादी मोर्चाको बुधबार बिहान बसेको बैठकमा नेकपा महासचिव विप्लवले पक्राउ पुर्जी जारी गर्नु गलत भएको टिप्पणी गर्नुभएको थियो ।  यस्तै जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सङ्घीयता बलियो बनाएर जाने विषयमा मोर्चामा छलफल भइरहेको बताउनुभयो । 

“संविधानमा जुन व्यवस्था गरिएको छ, त्यो आठ वर्षसम्म कार्यान्वयन गर्न नसक्नु कमजोरी भयो । सङ्घीय व्यवस्थाबमोजिम कार्यान्वयन गरेर जानु पर्छ भन्ने मोर्चाको निष्कर्ष छ,” उहाँले भन्नुभयो, “सरकारले अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिइनु पर्छ भन्ने सुझाव आएका छन् ।”

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।