• ६ माघ २०८१, आइतबार

सवारीसाधन थन्किँदा राजस्व प्रभावित

blog

कन्हैयालाल केशरी 

पर्सा, पुस ११ गते । वीरगन्ज भन्सार कार्यालयमा (एकीकृत जाँच चौकी) सवारीसाधन थन्किँदा राजस्व असुलीमा प्रत्यक्ष प्रभाव परेपछि लक्ष्य अनुरूपको प्रगति हुन सकेको छैन।

प्रमुख भन्सार प्रशासक डिल्लाराम पन्थीले लगभग एक वर्षदेखि वीरगन्ज भन्सार कार्यालयमा एक हजार छ सयको हाराहारीमा साना र ठुला सवारीसाधन छुटाउन आयातकर्ताले चासो नदेखाउँदा राजस्व असुलीमा प्रत्यक्ष प्रभाव परेको बताउनुभयो । 

उहाँले वीरगन्ज भन्सार कार्यालयमा थन्किएको सवारीसाधन छुटाउन आयातकर्ताले चासो देखाए लगभग बिस अर्ब राजस्व सङ्कलन हुने बताउनुभयो । वीरगन्ज भन्सार कार्यालयको मुख्य राजस्व असुलीको स्रोत भारत र तेस्रो मुलुकबाट आयात हुने सवारीसाधन र पेट्रोलियम पदार्थ हो । 

विगत एक वर्षदेखि सवारीसाधनको आयात हुन नसकेको र आयात भई वीरगन्ज भन्सार बिन्दुमा आइपुगेको सवारीसाधन थन्किँदा आर्थिक वर्ष २०७९-०८० मा लक्ष्य अनुरूपको प्रगति भएन चालु आ.ब.मा पनि लक्ष्यसम्म पुगने सम्भावना न्यून छ । वीरगन्ज भन्सार कार्यालयले राष्ट्रको कुल राजस्वमा लगभग १८ प्रतिशतको योगदान दिँदै आएको छ । 

नेपाल अटोमोबाईल एसोसिएसनका अध्यक्ष ध्रुव बहादुर थापाले वीरगन्ज भन्सार कार्यालय र भैरहवा भन्सार कार्यालयमा करिब एक वर्षअघिसम्म चार हजार पाँच सयको हाराहारीमा ठुला र साना सवारीसाधन रहेकोमा हाल बढीमा तीन हजार सवारीसाधन छन् र ती बिस्तारै छुटाउने काम भइरहेको बताउनुभयो ।

उहाँले मुलुकमा देखिएको आर्थिक मन्दी र कम्पनीलाई तिर्नुपर्ने रकम भन्दा बढी राजस्व तिर्नुपर्ने भएकोले सवारी साधन छुटाउन केही समय लागेको भएपनि साना सवारीका साधनहरू छुटाउने कार्य नरोकिएको बताउनुभयो । अध्यक्ष थापाले व्यावसायिक प्रयोजनका लागि आयात भएका ठुला सवारीसाधन छुटाउने कार्य पनि मुलुकमा देखिएको आर्थिक अवस्थामा सुधार हुने बताउनुभयो । उहाँले सवारीसाधन छुटाउन नसकिएका कारण हालसम्म लगभग ३० देखि ३५ करोडको हाराहारीमा पार्किङ शुल्क बुझाउनु परेको जानकारी दिनुभयो ।