• २४ पुस २०८१, बुधबार

मरिण खोलामा तटबन्ध निर्माण गरिने

blog

सिन्धुली समाचारदाता

कुसुमटार (सिन्धुली), पुस १० गते । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिण खोला नियन्त्रणका लागि तटबन्ध निर्माण गरिने भएको छ ।सुनकोसी नदीको पानी सुरुङमार्फत मरिण खोलामा खसाइने छ । सोही क्रममा मरिण खोलाको बहाव बढ्ने भएकाले मरिण क्षेत्रको जमिन डुबान र कटान रोक्न तटबन्ध निर्माण गरी नदी नियन्त्रण गरिने जनाइएको छ । 

आयोजनाले मरिण खोला किनारस्थित कुलोको समेत पुनर्निर्माण गर्ने गरी गुरुयोजनामा समेटेको जनाइएको छ । सोही गुरुयोजना अनुरूप प्याकेज–१ अन्तर्गत दुई किलोमिटर तटबन्ध गर्न लागिएको हो । 

आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवि शाक्यका अनुसार प्याकेज–१ अन्तर्गत दुई किलोमिटर तटबन्ध गर्न जयमा स्वर्गद्वारी–सिद्धकाली–कालिका भगवती जेभीसँग गत भदौमा ठेक्का सम्झौता भएको छ । एक वर्षमा काम सक्ने गरी मूल्य अभिवृद्धि करसहित सात करोड १३ लाख ४७ हजार ३९१ रुपियाँमा ठेक्का सम्झौता भएको छ । सो ठेक्काको कार्य आदेश जारी भई निर्माण व्यवसायी साइटमा परिचालनसमेत भइसकेको छ । मरिण खोला तटबन्धकै लागि प्याकेज–२ अन्तर्गत लागत अनुमान तयारी कार्य भइरहेको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख मित्र बरालले प्याकेज–२ अन्तर्गत छ किलोमिटर तटबन्ध हुने जानकारी दिनुभयो । उहाँका अनुसार, “सुनकोशी नदीको पानी मरिण खोलामा मिसाउँदा डुबान र कटान हुने क्षेत्र पहिचान गरी त्यहाँ तटबन्ध गरेर जग्गाको सुरक्षा गरिने योजना छ ।” 

कुसुमटारदेखि बागमती नदीसम्म मरिण खोलाको बहाव क्षेत्र करिब ४० किलोमिटर लम्बाइ रहेको आयोजनाले जनाएको छ । सो सबै क्षेत्रमा तटबन्ध गरिने छैन । 

सुनकोशी तथा तामाकोशीको दोभानभन्दा नौ सय मिटर तल सुनकोशी नदीमा करिब ३० मिटर आग्लो र १५८ मिटर  लामो बाँध निर्माण गरी पानी बग्ने ५.५ डायमिटरको १३.३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ । सुनकोशी नदीको पानीलाई बागमती सिँचाइ आयोजनामा पु-याइ तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर जमिनमा वर्षभरि नै सिँचाइ सुविधा पु-याउने मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ । सामाजिक दायित्व तथा वातावरणीय सुधारका कार्यव्रmम अन्तर्गत ब्यारेजको डुबान क्षेत्र र मरिण खोला (कुसुमटार) मा निर्माण हुने पावरहाउस क्षेत्रमा नदी नियन्त्रण, सडक, सिँचाइ कुलो, लिफ्ट सिँचाइ, खानेपानीलगायतका कार्यव्रmम आवश्यकता अनुसार सञ्चालन गर्ने योजना रहेको बताएको छ ।