• १२ मंसिर २०८१, बुधबार

नसर्ने रोगको स्क्रिनिङ शिविर

blog

शिविरमा स्वास्थ्य जाँच गराउन आउनुभएका स्थानीय । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, पुस ९ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आयोजना गरिएको नसर्ने रोग सम्बन्धीको स्क्रिनिङ स्वास्थ्य शिविरमा मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रोगको शङ्का लागेका तीन सय १८ जना नागरिकले सेवा लिएका छन् । 

स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको समन्वयमा वडा नम्बर ५ स्थित बिनौल स्वास्थ्य चौकीमा आइतबार सञ्चालन गरिएको मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग स्क्रिनिङ शिविरमा तीन सय १८ जना सर्वसाधारणले सेवा लिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । 

सूचना अधिकारी श्रेष्ठका अनुसार स्क्रिनिङ स्वास्थ्य शिविरमा सेवा लिनुभएका ३१८ जनामध्ये सामान्यभन्दा बढी तौल भएका (महिला ६५ केजी र पुरुष ७५ केजीभन्दा माथि) १३७ जना, सामान्यभन्दा बढी रक्तचाप भएका १५८ जना, रगतमा चिनीको मात्रा सामान्यभन्दा बढी भएका ८५ जना, पिसाबमा चिनीको मात्रा बढी भएका २१ जना, पिसाबमा एल्बुमिन देखा परेका २१ जना र २१ जनामा पिसाबमा पिएच असामान्य देखिएको थियो ।

शङ्कास्पद तीन सय १८ जना नागरिकलाई परामर्श गरिएको र तीमध्ये दुई सय ६४ जनालाई थप जाँच तथा उपचारका लागि सल्लाह सुझाव प्रदान गरिएको उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार यसअघि गत शुक्रबार राप्तीसोनारीको वडा नम्बर ८ स्थित शम्सेरगन्जको आधारभूत स्वास्थ्य केन्द्रमा पनि स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा दुई सय ६ जना नागरिकले सेवा लिनुभएको थियो । 

स्क्रिनिङ शिविरमा नयाँ बिरामी पत्ता लगाउने अभियान भएकाले निदान भइसकेका, औषधि खाइरहेका र पुराना बिरामीको शिविरमा स्वास्थ्य चेकजाँच नहुने पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो । उहाँले मधुमेह, उच्चरक्तचाप र मिर्गौला रोगको शङ्का लागेका ४० वर्षमाथिका बिरामीले मात्रै शिविरमा लाभ लिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय, गाउँपालिका स्वास्थ्य शाखा र सम्बन्धित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीद्वारा शिविरमा आउनुभएका स्थानीय नागरिकहरूको स्वास्थ्य जाँच गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । अन्य पालिकाले पनि अनुरोध र समन्वय गरेमा यस्तो प्रकारको शिविर अन्य पालिकामा पनि आयोजना गर्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।