बाबुराम देवकोटा
कुसुमटार(सिन्धुली), पुस ९ गते । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिण खोलामा तटबन्ध निर्माण गरी नदी नियन्त्रण गरिने भएको छ। सुनकोशी नदीको पानी सुरुङमार्फत मरिण खोलामा मिसाउँदा मरिण क्षेत्रको उर्वर जमिन डुबान र कटानमा पर्ने भएकाले दुवै किनारमा तटबन्ध निर्माण गरी नदी नियन्त्रणको काम गर्न लागिएको उक्त आयोजनाले जनाएको छ ।
उक्त आयोजनाले मरिण खोला नदी नियन्त्रण तथा मरिण खोला किनारस्थित कृषक कुलोहरूको समेत पुनः स्थापना गर्ने गरी गुरु योजनामा समेटेको छ । सोही गुरु योजना अनुरूप प्याकेज-१ अन्तर्गत दुई किलो मिटर तटबन्ध गर्न लागिएको हो ।
आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवि शाक्यले प्याकेज-१ अन्तर्गत दुई किलो मिटर तटबन्ध गर्न जयमा स्वर्गद्वारी-शिद्धकाली-कालिका भगवती जेभि निर्माण कम्पनीसँग सम्झौता भइसकेको जानकारी दिनुभयो । उक्त कम्पनीले एक वर्षमा कामसक्ने गरी मूल्य अभिवृद्धि कर सहित सात करोड १३ लाख ४७ हजार ३९१ रुपियाँमा ठेक्का सम्झौता गरेको उहाँले बताउनुभयो ।
इन्जिनियर शाक्यले भन्नुभयो, "उक्त कम्पनीले गत भदौ महिनामा ठेक्का सम्झौता गरेको हो । सो ठेक्काको कार्य आदेश समेत जारी भई निर्माण व्यवसायी साइटमा परिचालन समेत भइसकेको छ ।" मरिण खोला तटबन्धकै लागि प्याकेज–२ अन्तर्गत लागत अनुमान तयारी कार्य भइरहेको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख मित्र बरालले प्याकेज-२ अन्तर्गत छ किलो मिटर तटबन्ध हुने स्पष्ट पार्नुभयो । "सुनकोशी नदीको पानी मरिण खोलामा मिसाउँदा डुबान र कटान हुने क्षेत्र पहिचान गरी त्यहाँ तटबन्ध गरेर जग्गाको सुरक्षा गरिने योजना छ," उहाँले भन्नुभयो, "सुनकोसीको पानी खस्ने कुसुमटार (मरिण खोला) देखि बागमती नदीसम्म सबै ठाउँमा तटबन्ध हुँदैन ।"
कुसुमटारदेखि बागमती नदीसम्म मरिण खोलाको बहाव क्षेत्र करिब ४० किलो मिटर लम्बाई रहेको आयोजनाले जनाएको छ । सुनकोशी तथा तामाकोशीको दोभानभन्दा नौ सय मिटर तल
सुनकोशी नदीमा करिब ३० मिटर आग्लो र एक सय ५८ मिटर लामो बाँध निर्माण गरी पानी बग्ने ५ दशमलव ५ डायमिटरको १३ दशमलव तीन किलो मिटर लामो सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कुसुमटार स्थित मरिणखोलामा खसालीने योजना छ ।
सुनकोशी नदीको पानीलाई बागमती सिँचाइ आयोजनामा पुर्याई तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर जमिनमा वर्षभरि नै सिँचाई सुविधा पुर्याउने मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।
सामाजिक दायित्व तथा वातावरणीय सुधारका कार्यक्रम अन्तर्गत ब्यारेजको डुबान क्षेत्र र मरिण खोला (कुसुमटार)मा निर्माण हुने पावरहाउस क्षेत्रमा नदी नियन्त्रण, सडक, सिँचाइ कुलो, लिफ्ट सिँचाइ, खानेपानी लगायतका कार्यक्रमहरू आवश्यकता अनुसार सञ्चालन गर्ने योजना रहेको पनि बताएको छ ।
मरिण खोलामा तटबन्ध निर्माण गरी नदी नियन्त्रण हुने भएपछि वर्षौँदेखि लालपुर्जा भएर पनि सुकुम्वासी जीवन बिताउँदै आएका किसानहरू उत्साहित भएका छन् ।