• २५ वैशाख २०८१, मङ्गलबार

सरकारको एक वर्ष

बढ्यो विदेशी लगानी

blog

काठमाडौँ, पुस ९ गते । एक वर्षको अवधिमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) को प्रतिबद्धता र लगानी दुवै बढेको छ । अर्थतन्त्र लयमा आउन थालेसँगै विदेशी लगानीमा सुधार आएको हो । 

लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन–कात्तिक) मा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ६४ करोड रुपियाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ४२ करोड ९२ लाख रुपियाँमा सीमित थियो ।

चालु आवको पहिलो चार महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोड रुपियाँले धनात्मक छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी एक अर्ब ४० करोड रुपियाँले ऋणात्मक थियो । लाभांश र रोयल्टीबापत बाहिरिएको रकम बढी भएको अवस्थामा खुद प्रत्यक्ष वैदेशिक लगानी ऋणात्मक देखिएको हो ।

यस्तै भदौ महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्बले धनात्मक थियो भने अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९७ लाख रुपियाँले ऋणात्मक थियो । असोजमा तीन अर्ब ३७ करोड रुपियाँले खुद प्रत्यक्ष वैदेशिक लगानी धनात्मक रहेकामा अघिल्लो वर्षको सोही अवधिमा सात करोड ९६ लाख रुपियाँले धनात्मक रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको पाँच महिना (साउन–मङ्सिर) मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उलेख्य वृद्धि भएको छ । यस अवधिमा १९९ उद्योगमार्फत कुल २४ अर्ब ३५ करोड ७२ लाख ३७ हजार रुपियाँ प्रतिबद्धता आएको छ । गत वर्ष सो अवधिमा १११ उद्योगमार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको थियो । विदेशी लगानीकर्ताको लगानीको आकर्षण क्षेत्र पर्यटन र सेवा क्षेत्रमा रहेको छ ।

साउनमा मात्र वैदेशिक लगानी उत्साहजनक रूपमा बढेको छ । यस महिनामा करिब १२ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको विभागले जनाएको छ । यो अघिल्लो आवको साउनको तुलनामा साढे चार गुणाले बढी हो । अघिल्लो आवको साउनमा दुई अर्ब ६४ करोड लगानी प्रतिबद्धता आएको थियो । 

विभागका अनुसार भदौमा दुई अर्ब ७२ करोड र असोजमा एक अर्ब ९८ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । यस्तै कात्तिकमा एक अर्ब ७५ करोड र मङ्सिरमा दुई अर्ब २५ करोड रुपियाँको लगानी प्रतिबद्धता रहेको विभागको तथ्याङ्क छ । विभागका महानिर्देशक बाबुराम गौतमले लगानीयोग्य वातावरणका साथै नीतिगत सुधारका कारण मुलुकमा भित्रिने लगानीमा सुधार आएको जानकारी दिनुभयो । 

औद्योगिक क्षेत्रलाई प्रवर्धन गर्ने सरकारको नीति छ, प्रक्रियागत सरलीकरण, अन्तरनिकाय समन्वय, लगानीकर्तालाई प्रतिफल लैजानका लागि गरिने शीघ्र निर्णयले पनि यस वर्ष विदेशी लगानी बढेको उहाँको भनाइ छ । “कोभिडपछि पर्यटक आगमन बढ्नु, जलविद्युत् क्षेत्रमा भएको नीतिगत सुधार, लगानीकर्ताले यी क्षेत्रमा लगानीको सम्भावना उच्च देखेकाले पनि लगानी बढ्दै गएको छ,” महानिर्देशक गौतमले भन्नुभयो, “विभागले लगानी भित्र्याउने गरी प्रक्रियागत प्रणालीलाई सरलीकरण गराउँदै गएको छ ।” 

सरकारले विदेशी लगानीलाई सहजीकरण गर्न गत वर्षको मङ्सिरदेखि विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँ बनाएको छ । वैदेशिक लगानीमा सुधार ल्याउन सरकारले चालु आर्थिक वर्षको बजेटबाट नीतिगत सुधारका कार्यव्रmम अघि बढाएको थियो ।  राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार आव २०७८/७९ मा ५४ अर्ब १५ करोड आठ लाख रुपियाँ प्रतिबद्धता आएकामा १८ अर्ब ५६ करोड रुपियाँ भित्रिएको थियो ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ को व्यवस्था अनुसार छ अर्ब रुपियाँसम्मको विदेशी लगानीको स्वीकृत उद्योग विभागले गर्छ । छ अर्ब रुपियाँभन्दा बढीको विदेशी लगानीको स्वीकृति लगानी बोर्डको कार्यालयले गर्छ । 

पर्यटन र सेवा क्षेत्रमा आकर्षण

यसैबिच वैदेशिक लगानीको उद्योग दर्ताको सङ्ख्यामा पनि सुधार देखिएको छ । गत आवको साउन–मङ्सिरसम्म १२८ वटा उद्योग दर्ता भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा ५६ प्रतिशतले बढेर १९९ वटा पुगेको विभागको तथ्याङ्क छ । 

विभागका अनुसार पर्यटन उद्योगमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । पाँच महिनाको अवधिमा २० अर्ब ६० करोड रुपियाँको लगानी प्रतिबद्धतामध्ये नौ अर्ब ५५ करोड रुपियाँ पर्यटन उद्योगमा आएको हो । सेवा क्षेत्रमा सात अर्ब ४४ करोड, उत्पादनमूलक उद्योगतर्फ एक अर्ब ९१ करोड र अन्यमा एक अर्ब ७१ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । लगानीकर्ता साना उद्योगमा लगानी गर्न आकर्षित देखिएका छन् । १९९ वटा लगानी स्वीकृतिमध्ये १८९ वटा स्वीकृत साना उद्योग सञ्चालनका लागि छ । मध्यमस्तरको उद्योगका लागि सात र ठुला उद्योगका लागि तीन वटा उद्योगले स्वीकृति लिएको विभागले जनाएको छ ।