मकवानपुर समाचारदाता
हेटौँडा, पुस ८ गते । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौँडामा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवेदन दिने शैक्षिक संस्था सात वटा पुगेको छ ।
विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न प्रक्रिया अगाडि बढाएको परिषद्ले अन्य सामुदायिक एवं सार्वजनिक शैक्षिक संस्थाले समेत आवेदन दिन इच्छा देखाएको भन्दै आवेदन दिने म्याद थप एक महिना थप गरेको थियो तर सो अवधिमा धादिङ जिल्लाको चन्द्रोदय बहुमुखी क्याम्पसको मात्र आवेदन परेको मन्त्रालयका सचिव डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
परिषद्ले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न आवेदन दिने म्याद थप गर्दै दोस्रो पटक आवेदन दिन सक्ने क्षेत्र र विषयसमेत थप गरेको थियो । परिषद्ले पछिल्लो पटक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न खेलकुद र पर्यटन क्षेत्र थप गर्दै गत कात्तिक १९ गते सूचना जारी गरी पुनः आवेदन माग गरेको जनाएको छ ।
परिषद्ले पछिल्लो पटक म्याद र क्षेत्र थप गर्दै विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न आवश्यक मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस वा शैक्षिक संस्थामध्ये स्वास्थ्य/चिकित्सा विज्ञान, विज्ञान प्रविधि (इन्जिनियरिङसमेत), कानुन, पर्यटन र खेलकुदको क्षेत्रमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न आवेदन माग गरेको थियो । यसअघि गत असोज ७ गते विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न इच्छुक क्याम्पस वा शैक्षिक संस्थामध्ये स्वास्थ्य, सूचना प्रविधि (इन्जिनियरिङसमेत) र कानुन क्षेत्रमा आवेदन माग गरेको थियो । मन्त्रालयका सचिव भुसालले यसअघि आवेदन दिएका छ वटा सामुदायिक एवं सार्वजनिक शैक्षिक संस्थाको प्रस्तावसहित आवेदनमाथि प्रारम्भिक छलफल अध्ययन भएको बताउनुभयो ।
प्रदेश उच्च शिक्षा परिषद्को सचिवालयले प्रदेश उच्च शिक्षा ऐन २०७८ को अनुसूचीमा व्यवस्था भएको विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस तथा शैक्षिक संस्थासँग आवेदन माग गरेको थियो । मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालयलाई बनाउने निर्णय भएको हो ? भन्ने प्रश्नमा मन्त्रालयका सचिव भुसालले भन्नुभयो, “हेटौँडामा विश्वविद्यालय बनाउने भन्ने छ तर कुनै निश्चित शैक्षिक संस्थालाई ऐनले चिन्दैन । उहाँले अगाडि भन्नुभयो, “विश्वविद्यालय वा विश्वविद्यालयको अङ्ग बन्नु पूर्वशैक्षिक संस्थाको सम्पत्ति प्रदेश सरकारलाई बुझाउनुपर्ने ऐनमा व्यवस्था छ ।”
पहिलो पटक मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा, धुलिखेल हस्पिटल, धुलिखेल, काठमाडौँ स्कुल अफ ल, सूर्यविनायक, भक्तपुर, बानेश्वर बहुमुखी क्याम्पस, काठमाडौँ, मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स काठमाडौँ र डिडब्लुआइटी कलेज, काठमाडौँले आवेदन दिएका थिए । मकवानपुर बहुमुखी क्याम्पसले सार्वजनिक विश्वविद्यालय, धुलिखेल अस्पतालले सामुदायिक विश्वविद्यालय, बानेश्वर बहुमुखी क्याम्पस, काठमाडौँ र मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स काठमाडौँले मानित विश्वविद्यालय तथा काठमाडौँ स्कुल अफ ल, भक्तपुर र डिडब्लुआइटी कलेज, काठमाडौँले प्रतिष्ठान स्थापनाका लागि आवेदन दिएका हुन् । सार्वजनिक विश्वविद्यालय, सामुदायिक विश्वविद्यालय, मानित विश्वविद्यालय र स्वायत्त प्रतिष्ठान गर्न शैक्षिक संस्थाले एक लाख रुपियाँ निवेदन दस्तुर र स्वीकृति दस्तुर पाँच लाख रुपियाँ बुझाउनुपर्ने व्यवस्था छ । यस्तै उच्च शिक्षण संस्थाले निवेदन दस्तुरबापत ७५ हजार र स्वीकृत दस्तुरबापत तीन लाख रुपियाँ बुझाउनुपर्ने व्यवस्था रहेको छ । साथै विधान संशोधन शुल्क निवेदन दस्तुरको ५० प्रतिशत लाग्ने छ ।