• २७ वैशाख २०८१, बिहिबार

रोङका ११ सय ज्येष्ठ नागरिकलाई रेडियो वितरण

blog

गाउँपालिकाले आफ्ना नागरिकलाई सूचना र जानकारीको सहज पहुँच पुर्‍याउनका लागि रेडियो वितरण । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी
पशुपतिनगर(इलाम), पुस ८ गते ।
इलामको रोङ गाउँपालिका–५ इरौंटारका धन बहादुर राई ७८ वर्ष पुग्नु भयो । राईको बुढेसकालको सहारा रेडियो हो । उहाँ घरमा बस्दा रेडियो सुन्दै बस्नु हुन्छ । राई भन्नु हुन्छ ‘‘परिवारका सदस्य काममा सबै लाखापाखा लाग्छन, रेडियोलाई साथी बनाएर बस्ने गरेको छु ।’’

मेची राजमार्गले छोए पनि रोङ गाउँपालिकाको भौगोलिक अवस्था निक्कै अप्ठ्यारो छ । भौगोलिक विकटताका कारण सबै ठाउँमा सञ्चारको पहुँच पुग्न सकेको छैन । गाउँपालिकाले आफ्ना नागरिकलाई सूचना र जानकारीको सहज पहुँच पुर्‍याउनका लागि रेडियो वितरण गरेको छ । पालिका भित्रका ६८ वर्ष माथिका ११ सय नागरिकलाई रेडियो वितरण गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । कुनै खर्च नलाग्ने र काम गर्दै पनि रेडियो सुन्न सकिने भएका कारण रेडियो वितरण गरीएको अध्यक्ष स्याङबोले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा सहज सञ्चार माध्यमको रुपमा अहिले पनि रेडियो सुन्नेको सङ्ख्या धेरै छ । स्थानीय नागरिकले खेतवारीमा काम गर्दै रेडियो सुन्ने गरेका छन् । अध्यक्ष स्याङबोले भन्नु भयो, ‘‘रेडियो सुन्नका लागि समय खर्चीनु पर्दैन, काम गर्दै सुन्दै गर्दा हुन्छ, नागरिकका लागि सहज माध्यम नै रेडियो हो ।’’

गाउँपालिकाले विभिन्न कार्यक्रमको जानकारी रेडियोबाटै दिने गरेको छ । गाउँपालिकाले विगतदेखि नै पालिकाका गतिविधि समेटेर रोङको सेरोफेरो कार्यक्रम उत्पादन गरी प्रसारण गर्दै आएको छ । उक्त कार्यक्रम उत्पादन गर्दै आउनु भएका आगन एफ.एम. झापाका इन्द्रजित मुखीया अझै छिटो, सजिलो र भरपर्दो सञ्चार माध्यमका रुपमा आम नागरिकले रेडियोलाई लिने गरेको बताउनु हुन्छ ।

गाउँपालिकाले वृद्धवृद्धाको अनुभव साटासट गर्ने ज्येष्ठ नागरिक सम्बाद कार्यक्रम समेत गर्दै आएको छ । उक्त कार्यक्रम उत्पादन गर्दै आउनु भएका रेडियो बुद्धबाणी फिक्कलका अध्यक्ष दिनेश महत ग्रामीण क्षेत्रका वृद्धवृद्धाको साथी नै रेडियो भएको बताउनु हुन्छ ।

गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले पुराना परम्परा संस्कृति लोप हुँदै गएको अवस्थामा ज्येष्ठ नागरिक सम्बाद कार्यक्रमले संस्कार संस्कृति संरक्षण्मा सहयोग पुग्ने बताउनु भयो । ‘‘वृद्धवृद्धाको अनुभाव साटासाटले गर्दा पनि उहाँहरुलाई एक्लोपनको महसुस हुँदैन ।’’उपाध्यक्ष खवासले भन्नु भयो । रोङ ५ कै ७२ वर्षीय तेज बहादुर राईले वर्षौदेखिको साथी रेडियो नै भएको बताउनुहुँदै गाउँपालिकाले रेडियो दिँदा खुसी व्यक्त गनु भयो ।

गाउँपालिकाले रोगको खोजी अभियान समेत थालेको छ । पालिकाको वडा नं. ५ मा विशेषज्ञ डाक्टरसहितको निःशुल्क स्वास्थ्य शिविर समेत गरेको छ । शिविरमा महिलाको पाठेघर हुँने क्यान्सर, अन्य क्यान्सरसहित विभिन्न प्रकारका गरी ८ सय बढीको निःशुल्क उपचार गरी औषधि वितरण गरेको छ । पूर्वाञ्चल क्यासर अस्पताल बिर्तामोडसहित विभिन्न संघसंस्थाको सहयोगमा भएको शिबिरबाट छनौट भएका जटिल रोगका बिरामीको अस्पतालमै लगेर निःशुल्क उपचार गरीने रोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख युवराज काफलेले बताउनु भयो । उहाका अनसार पालिकाका सबै वडामा निःशुल्क शिविर सञ्चालन गरी रोगीको खोजी गरिने छ ।