• १२ असोज २०८१, शनिबार

अन्नपूर्ण गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

blog

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता । तस्बिर :अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, पुस ८ गते ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको आयोजना र मुक्तिमार्ग माध्यमिक विद्यालयको सहआयोजनामा आयोजित प्रतियोगिता गाउँपालिकाको केन्द्र पोखरेबगरमा सुरु भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नु भएको थियो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले विद्यालय स्तरमा रहेका खेल प्रतिभाको पहिचान तथा नयाँ खेलाडी उत्पादनमा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गणतन्त्रपछि भएको संरचना अनुसार स्थानीयतहले खेलकुद प्रतियोगिता सञ्चालन गर्न थालेपछि खेलकुद क्षेत्रमा नयाँ प्रतिभाहरुको पहिचान, खेलाडीको क्षमता विकास हुनुका साथै खेल पूर्वाधार निर्माणमा टेवा पुगेको उहाँको भनाइ थियो ।

राष्ट्रपति रनिङ शिल्ड बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा एथलेक्सितर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटर दौड, १०० मिटर गुणा ४ तथा ४०० मिटर गुणा ४ रिले दौड ट्रयाक तर्फका खेल हुदै छन् । त्यस्तै, सटपुट, हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याबलीन थ्रो बिधाका खेल सञ्चालन हुँदै छन् । यसैगरी, कबड्डी र भलिबल खेल सञ्चालन हुँदै छन् भने मार्सल आर्टतर्फका खेलमा प्रतिस्पर्धाका रुपमा कुनै पनि विद्यालयले खेलाडी सहभागी बनाएका छैनन् ।


राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा बिजेता विद्यालयलाई ५० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । त्यस्तै, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश ३० हजार र २० हजार रुपियाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ । भलिबल, कबड्डी र एथलेटिक्सका तर्फ प्रथम हुने विद्यालयलाई पाँच÷पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

उद्घाटन खेलका रुपमा भएको १५ सय मिटर दौड प्रतियोगिताको छात्रतर्फ मुक्तिमार्ग माध्यमिक विद्यालय घारका मन्दिप परियार प्रथम, शिख माविका राजन तिलिजा दोश्रो, ज्ञानप्रकाश मावि दानाका अमृत बसेलले तेस्रो स्थान हासिल गर्नुभएको छ । छात्रातर्फ शिख माध्यमिक विद्यालयकी रितु विक प्रथम, प्रभा माध्यमिक विद्यालय नारच्याङकी रेजिना पुन दोश्रो र टिकोट माध्यमिक विद्यालयकी रेनु पुनले तेस्रो स्थान हासिल गर्नुभएको छ । १५ सय मिटर दौड प्रतियोगिताका विजेता खेलाडीहरुलाई खले सकिए लगत्तै मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवम् वडा नम्बर २ का अध्यक्ष ओमप्रसाद फगामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन मुक्तिमार्ग मावि घारका प्रधानाध्यापक ठकराज बरुवाल गर्नुभएको थियो ।