• २४ वैशाख २०८१, सोमबार

सरकारको एक वर्ष

जनक शिक्षा सामग्री केन्द्र, पाठ्यपुस्तकको पहुँच सहज

blog

काठमाडौँ, पुस ८ गते । वर्तमान सरकारले सत्ता सञ्चालनको नेतृत्व गरेसँगै विद्यालय तहको पाठ्यपुस्तक छपाइ तथा वितरणमा उल्लेख्य सुधार देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निरन्तर अनुगमन र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आन्तरिक व्यवस्थापनमा देखिएको सुधारले यो अवस्था आएको हो । यससँगै सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड लगातार तीन वर्षदेखि मुनाफामा गएको छ । 

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले केन्द्रले तीन वर्षको अवधिमा ५१ करोड रुपियाँ नाफा आर्जन गरेको जानकारी दिनुभयो । २०६२/६३ को दोस्रो जनआन्दोलनपछि कुनै वर्ष सामान्य नाफा कमाए पनि केन्द्रको इतिहासमै पहिलो पटक तीन वर्षदेखि निरन्तर नाफामा रहेको केन्द्रको दाबी छ ।

प्रबन्ध सञ्चालक झाले पाठ्यपुस्तक छपाइ र वितरणमा पछिल्लो समय देखिएको सुधारले आफूहरूलाई उत्साहित बनाएको बताउनुभयो । शैक्षिक सत्र सुरु भएको लामो समय बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन नसकेको भन्दै हरेक वर्ष केन्द्रको आलोचना हुने गरेको थियो । तर केन्द्रले गत वर्ष भने समयमै छपाइ तथा वितरण गरेर सबैतिरबाट स्याबासी पाएको छ । केन्द्रले गत वर्ष कक्षा एकदेखि १२ सम्मका ५२ लाख विद्यार्थीलाई समयमै पुस्तक उपलब्ध गराएको सरकारले एक वर्षको मुख्य उपलब्धिमा समेत समावेश गरेको छ । प्रबन्ध सञ्चालक झाले सरकारको सहयोग, कर्मचारीको मेहनत तथा कुशल व्यवस्थापनका कारण उक्त कार्य सम्भव भएको जानकारी दिनुभयो । 

विद्यार्थीलाई भर्ना भएकै दिन पाठ्यपुस्तक पुर्‍याउने लक्ष्य हरेक सरकारले राखे पनि गत वर्ष भने यस काममा वर्तमान सरकार सफल भएको हो । केन्द्रले करिब पाँच महिना मात्रै मेहनत गरेर पनि तोकिएको समयमा पाठ्यपुस्तक पुर्‍याउन सफल भएको थियो । पाठ्यपुस्तक छपाइ प्रक्रियाबारे सरकारी निकायबाट निरन्तर भएको अनुगमनले पनि यो उपलब्धिमा सहयोग पुर्‍याएको थियो । यस काममा माथिल्ला निकायबाट अनुगमनको शृङ्खला बढेपछि केन्द्रका अधिकारी पनि यसमा गम्भीर भएर लागे । जसका कारण कागज खरिद प्रक्रिया सहज भयो । कागज आपूर्तिकर्ताले भनेकै समयमा कागज ल्याइदिए ।

जनक शिक्षा सामग्री केन्द्रमा पुरानाबाहेक थप तीन वटा छपाइ मेसिन पनि यही समयमा थपिए । प्रबन्ध सञ्चालक झाले यस कार्यमा सरकारको सहजीकरणले पनि निकै ठुलो भूमिका निर्वाह गरेको बताउनुभयो । “कतिसम्म भने पाठ्यपुस्तक छपाइ तथा वितरणमा प्रधानमन्त्री कार्यालयबाट समेत नियमित निगरानी भइरह्यो,” उहाँले भन्नुभयो “प्रधानमन्त्रीको सचिवालयले त पाठ्यपुस्तक नपाएको अवस्थामा तत्काल खबर गर्न सामाजिक सञ्जालबाट सूचना पनि प्रवाह गरिरह्यो । यसको एकमुष्ट परिणाम विद्यार्थीको हातमा देखियो ।” 

चालु शैक्षिक सत्रको उपलब्धिबाट हौसिएको केन्द्र आउने शैक्षिक सत्रका लागि पनि विद्यार्थी भर्ना हुनेबित्तिकै पाठ्यपुस्तक हातमा पुर्‍याउने अभियानमा छ । जसका लागि कक्षा ६ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको काम सुरु भइसकेको छ । झाले कक्षा ३ का विद्यार्थीको पाठ्यपुस्तक पनि छाप्न सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी वर्षका लागि निजी मुद्रण संस्थालाई पुस्तक छपाइको जिम्मा दिन नपर्ने गरी काम गरिरहेका छौँ । गत वर्षको सफलताले पनि हामी यो अभियानमा सफल हुन्छौँ भन्ने आत्मविश्वास थपिदिएको छ ।”  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।