• २१ असार २०८२, शनिबार

सहकारी ठगीको सुनुवाइ सुरु, लघुवित्तपीडितको प्रदर्शन

blog

गोविन्द शर्मा 

बाँके, पुस ७ गते । नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा भएको रकम हिनामिनाको विषयमा बाँके जिल्ला अदालतमा अन्तिम सुनुवाइ सुरु भएको छ । पुस ३ गतेदेखि जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासमा निरन्तर सुनुवाइ भइरहेको बाँके जिल्ला अदालतका प्रवक्ता हेमन्त भट्टराईले जानकारी दिनुभयो । 

अदालतका सूचना अधिकारीसमेत रहनुभएका भट्टराईले भन्नुभयो, “धेरै कानुन व्यवसायीको बहस हुनुपर्ने र फाइल पनि ठुलो भएकाले अझै केही दिन सुनुवाइ चल्ने छ ।” 

एक हजारभन्दा बढी निक्षेपकर्ता र सेयरधनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी दिएका थिए । जिल्ला सहकारी सङ्घ बाँकेले समेत कारबाहीका लागि जाहेरी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले लामो अनुसन्धानपछि २०७६ असोज २९ गते सहकारी रकम हिनामिना, अपचलन, ठगी र सङ्गठित अपराधमा लीलाधर भन्ने लीलाप्रसाद वलीसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । विपक्षी बनाइएकामध्ये एक जनाको निधन भइसकेको छ । यो मुद्दामा ५६ करोड रुपियाँ मागदाबी गरिएको छ । चार वर्षदेखि चलिरहेको बहुचर्चित मुद्दामा पाँच जना थुनामा रहेका छन् । सहकारीका सञ्चालक र कर्मचारीको मिलेमतोमा बचतकर्ताको रकम हिनामिना भएको दाबी गरिएको छ । नेपालगन्जको पुरानोमध्येको यस सहकारीमा अधिकांश ग्रामीण क्षेत्रमा विपन्न समुदायका व्यक्तिको बचत रहेको छ । जिल्ला अदालतमा अन्तिम चरणको सुनुवाइ सुरु भएपछि पीडित बचतकर्ताहरू फैसला सुन्न केही दिनदेखि दिनभर अदालत परिसर पुग्ने गरेका छन् । 

लघुवित्त पीडितको प्रदर्शन

यसैबिच लघुवित्त तथा वित्तीय शोषणविरुद्धमा भन्दै नेपालगन्जमा शुक्रबार विरोध प्रदर्शन गरिएको छ । नेपालगन्जको कारकादौँको बैङ्क तथा वित्तीय संस्थाबाट ज्यादती गरिएको भन्दै चर्को नाराबाजीसहितको विरोध प्रदर्शन भएको हो । लघु वित्तीय संस्थाविरुद्धको सङ्घर्ष समिति नेपाल बाँके–बर्दियाको आयोजनामा भएको प्रदर्शनमा महिलाको सहभागिता अधिक रहेको थियो । 

 सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त तथा वित्तीय संस्थाहरू नवसामन्तका रूपमा स्थापित भएकाले त्यसलाई खारेज गर्नुपर्ने बताउनुभयो । सामूहिक ऋण मिनाहा हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, कालो सूची तथा धितो लिलाम फुकुवा गर्नुपर्नेलगायतका मागसहित प्रदर्शन गरिएको हो । 

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध स्थापित समितिको आयोजनामा विरोध प्रदर्शन, कोणसभा, धर्ना तथा राष्ट्र बैङ्कको नेपालगन्जस्थित कार्यालय घेराउ कार्यक्रम गरिएको हो ।