• २५ वैशाख २०८१, मङ्गलबार

खाद्य कम्पनीले लक्ष्य अनुसार धान खरिद गर्न नसक्ने

blog

काठमाडौँ, पुस ७ गते । यो वर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लक्ष्य अनुसार धान खरिद गर्न नसक्ने भएको छ । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बजारमा महँगो मूल्यमा धान बिक्री भएपछि कम्पनीले नपाएपछि खरिद गर्न नसक्ने भएको हो । दशैँअघिदेखि धान खरिद प्रक्रिया सुरु गरे पनि किसान धान बिक्री गर्न नआएकाले लक्ष्य अनुसार धान खरिद गर्न नसकिएको कम्पनीले जनाएको छ । 

किसान धान बिक्री गर्न नआएकाले पनि न्यून परिमाणमा धान खरिद गरेको कम्पनीले जनाएको छ । बर्दिया र धनगढीबाट धान खरिद गरे पनि तराईमा भने पाउन नसकेको कम्पनीले जनाएको छ । कम्पनीका खरिद विभाग प्रमुख भेषनाथ न्यौपानेले हालसम्म ४६ हजार ११३ क्विन्टल मात्र धान खरिद गरिएको जानकारी दिनुभयो । “व्यापारीले महँगो मूल्यमा किसानबाट धान खरिद गर्दा धान पाउन सकिएन,” उहाँले भन्नुभयो, “यो वर्ष पनि लक्ष्य अनुसार धान खरिद गर्न सकिँदैन । बजारमा व्यापारीले प्रतिक्विन्टल धानको मूल्य तीन हजार नौ सयदेखि चार हजार तीन सय रुपियाँसम्म धान खरिद गरेका छन,” उहाँले भन्नुभयो, “कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार खरिद गर्नुपर्दा धान पाउन सकिएन ।” धानको मूल्य महँगो भएकाले समर्थन मूल्य बढाउन मन्त्रालयलाई भनेको उहाँले जानकारी दिनुभयो । यो वर्ष ५० हजार दुई सय मेट्रिक टन धान खरिद गर्ने कम्पनीको लक्ष्य रहेको थियो । धान नपाएकाले न्यून परिमाणमा मात्र खरिद गरेको कम्पनीले जनाएको छ । 

चालु आर्थिक वर्षमा धान खरिद गर्न एक अर्ब ७४ करोड १३ लाख २० हजार रुपियाँ छुट्याएको कम्पनीले जनाएको छ । सरकारले चालु आवका लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १९८ रुपियाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ तोकेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार किसानलाई राहत पु¥याउन धान खरिद गर्न लागिएको कम्पनीले जनाएको छ ।

गत वर्ष ९९ करोड १८ लाख रुपियाँ विनियोजन गरी ३० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य रहेकामा १३ हजार मेट्रिक टन मात्र खरिद गरेको थियो । कम्पनीले धान खरिद गरी कुटाएर चामल बिक्री गर्ने गरेको छ । कम्पनीले सुगमसँगै दुर्गम जिल्लामा सुपथ मूल्यमा खाद्यान्न वितरण गर्दै आएको छ । कम्पनीले बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न बिक्री गर्ने गरेको छ । 

चामल खरिद गर्दै 

कम्पनीले लक्ष्य अनुसार धान खरिद गर्न नसकेपछि चामल खरिद गर्न टेन्डर आह्वान गरेको छ । कम्पनीले आफ्ना १३ वटा कार्यालयमार्फत आठ लाख ३६ क्विन्टल चामल खरिद गर्न शुक्रबार टेन्डर आह्वान गरेको छ । सावाँ अरुवा, मोटा अरुवा, जिरा स्टिम, रञ्जित अरुवा, मसिनो जिरा स्टिम र मोटा अरुवा चामल खरिद गर्न लागेको छ । 

कम्पनीले मुख्य शाखा कार्यालय बिर्तामोडबाट १३ हजार क्विन्टल चामल खरिद गर्न लागेको छ । यस्तै प्रादेशिक कार्यालय विराटनगरबाट २२ हजार क्विन्टल, प्रादेशिक कार्यालय जनकपुरबाट १७ हजार क्विन्टल, मुख्य शाखा कार्यालय लहानबाट २० हजार क्विन्टल चामल खरिद गर्न लागेको छ । यस्तै शाखा कार्यालय वीरगन्जबाट २० हजार क्विन्टल, प्रादेशिक कार्यालय काठमाडाैँबाट १४ हजार, प्रादेशिक कार्यालय भैरहवाबाट १३ हजार क्विन्टल, मुख्य शाखा कार्यालय नेपालगन्जबाट १० हजार, मुख्य शाखा कार्यालय राजापुरबाट ४५ हजार, प्रादेशिक कार्यालय धनगढीबाट ३५ हजार क्विन्टल खरिद गर्न लागेको छ । प्रादेशिक कार्यालय, सुर्खेतबाट २५ हजार, मुख्य शाखा कार्यालय तुलसीपुरबाट सात हजार र शाखा कार्यालय महेन्द्रनगरबाट १० हजार क्विन्टल चामल खरिद गर्न कम्पनीले टेन्डर आह्वान गरेको छ ।