• २१ असार २०८२, शनिबार

वैदेशिक रोजगारमा ठगीका उजुरी बढ्दै

blog

वैदेशिक रोजगारकाे साङ्केतिक तस्बिर ।

लीलाधर वली

घोराही, पुस ६ गते । दाङमा वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरीहरु बढ्दै गएका छन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा सञ्चालित सूचना तथा परामर्श केन्द्रमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर महिनासम्म वैदेशिक रोजगारीमा ठगीलगायतका एक सय ६९ वटा उजुरी परेका छन् ।

बितेको पाँच महिनाको अवधिमा ठगी, विदेशमा अलपत्र पर्ने, मृत्यु, अङ्गभङ्ग तथा बिरामी, सम्पर्कविहीन र जेलमा परेकासम्बन्धी एक सय ६९ वटा उजुरी दर्ता भएको सूचना तथा परामर्श केन्द्रका सूचना तथा परामर्शकर्ता रीता लामाले जानकारी दिनुभएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत जिल्ला प्रशासनय कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमहीमा सूचना तथा परामर्श केन्द्र सञ्चालित छन् । 

जिल्लाका तीन स्थानमा सञ्चालित सूचना तथा परामर्श केन्द्रमध्ये जिल्ला प्रशासन कार्यालय घोराहीमा सञ्चालित सूचना तथा परामर्श केन्द्रमा पाँच महिनाको अवधिमा सबैभन्दा धेरै एक सय १५ वटा उजुरी परेको सूचना तथा परामर्श केन्द्रका सूचना तथा परामर्शदाता लामाले बताउनुभएको छ । उहाँका अनुसार तुलसीपुरस्थित सूचना तथा परामर्श केन्द्रमा ४३ वटा र लमहीस्थित सूचना तथा परामर्श केन्द्रमा ११ वटा वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरी परेका छन् । 

केन्द्रमा आएका अधिकांश उजुरी ठगी तथा विदेशमा अलपत्र पार्ने, यहाँ एउटा भनेर गएपछि अर्कै काममा लगाउनेलगायतका समस्या रहेको परामर्शदाता लामाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘जिल्लामा वैदेशिक रोजगारीका क्रममा हुने ठगीका उजुरीहरु बढ्दै गएका छन् ।’ पैसा बढी खाने, भनेको ठाउँमा नपठाएर अलपत्र पार्ने, विदेशमा मानिस सम्पर्कविहीन हुने लगायतका उजुरीहरु आउने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा ठगी, विदेशमा अलपत्र परेको, मृत्यु, अङ्गभङ्ग तथा बिरामी, सम्पर्कविहीन र जेल परेकासम्बन्धी तीन सय ११ वटा उजुरी दर्ता भएका थिए । 

केन्द्रले बितेको पाँच महिनामा वैदेशिक रोजगारी सम्बन्धी १० हजार ४ सय ७८ जनालाई सूचना तथा परामर्श प्रदान गरेको छ । जसअन्तर्गत घोराही केन्द्रबाट ४ हजार तीन सय ६९ जना, तुलसीपुर केन्द्रबाट ४ हजार ४ सय १५ जना र लमही केन्द्रबाट एक हजार ६ सय ९४ जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श प्रदान गरेको जानकारी दिनुभएको छ ।

यसैगरी केन्द्रले ४८ जनालाई विभिन्न सिप प्रदान गरेको छ । जसअन्तर्गत घोराहीबाट २३ जना, लमहीबाट १६ जना र तुलसीपुर केन्द्रबाट ९ जनालाई तालिम दिन सहजीकरण गरिएको केन्द्रले जनाएको छ । गत वर्ष जिल्लाका दुई सय पाँच जनालाई सिप प्रदान गरिएको थियो । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका तथा मृतकका परिवालाई एक करोडभन्दा बढी आर्थिक सहायताका लागि केन्द्रले सहजीकरण गरेको सूचना तथा परामर्श केन्द्रकी परामर्शदाता लामाले बताउनुभएको छ ।