रमेश विश्वकर्मा
गुल्मी, पुस ६ गते । गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गाको चौतारामा रहेको गौशालालाई आर्थिक सहयोग प्रदान गरिएको छ । रेसुङ्गा गौशालालाई गुल्मी जिल्ला समाज यूकेले एक लाख चार हजार रुपियाँ सहयोग प्रदान गरेको हो ।
गुल्मी जिल्ला समाज यूकेमा आaद्ध सदस्यहरुबाट सङ्कलन गरिएको सो रकम प्रवक्ता राधा खरेलले रेसुङ्गा गौशालामा पुगेर रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसाललाई सहयोग हस्तान्तरण गर्नुभयो । आर्थिक सहयोग हस्तान्तरण गर्नुहुँदै उहाँले आगामी दिनमा पनि साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गुल्मी जिल्ला समाज यूकेले विगतदेखि गुल्मी जिल्लामा हरेक दुःख र विपद्मा सहयोग गर्दै आइरहेको भन्दै आफ्नो जन्मभूमिको धर्म, संस्कृतिलाई संरक्षण गर्नका लागि पनि आर्थिक सहयोग गरिएको भुसालले बताउनुभयो । केही समय पहिले रेसुङ्गा संरक्षण समितिले रेसुङ्गा यज्ञशाला नजिकै नयाँ गौशाला निर्माणका लागि गुल्मी जिल्ला समाज यूकेलाई सहयोग गर्न आग्रह गरेको थियो । सोही अनुसार आर्थिक सहयोग गरिएको प्रवक्ता खरेलले जनाकारी दिनुभयो ।
रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले रेसुङ्गा संरक्षण समितिको आग्रहलाई स्वीकार गरी आर्थिक सहयोग हस्तान्तरण गरेको प्रति गुल्मी जिल्ला समाज युकेलाई धन्यवाद दिनुहुँदै संस्थाको प्रगतिको कामना समेत गर्नुभयो । रेसुङ्गा गौशालामा २०४२ सालदेखि लक्ष्मीथरका गाईहरु संरक्षित गरिंदै आएको अध्यक्ष भुसालले जानकारी गराउनुभयो । गाईले दुःख पाउँदा मानव जीवनमा पनि ठुलो सङ्कट पर्ने भन्दै गाईको संरक्षण गर्न सबै लाग्न जरुरी रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, गुल्मी जिल्ला समाज यूकेका प्रवक्ता राधा खरेलका श्रीमान मुसिकोट नगरपालिका– ५, का यज्ञलाल खरेलले धर्म, संस्कृति र रेसुङ्गाको संरक्षणका लागि ५० हजार पाँच रुपियाँ सङ्कलन गरेर रेसुङ्गा संरक्षण समितिको मानार्थ सदस्यता लिनुभयो । मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गर्नुहुँदै संरक्षण समितिका अध्यक्ष भुसालले खादा र रेसुङ्गा चित्राङ्कित उपहारसहितले सम्मान गर्नुभयो।
विदेशमा बसेर पनि आफ्नो जिल्लामा रहेको ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक, सिद्धभूमिको जर्गेना तथा धर्मको संरक्षण गर्नका लागि रेसुङ्गा संरक्षण समितिसँग जोडिएको यज्ञलाल खरेलले बताउनुभयो । युकेमा व्यापार, व्यावसाय सञ्चालन गर्दा रेसुङ्गा सिद्धस्थानको नाममा त्यहाँ स्वतःस्फूर्त रुपमा सङ्कलन भएको पचास हजार रुपियाँ पनि मानार्थ सदस्य खरेलले हस्तान्तरण गर्नुभयो ।