• २१ वैशाख २०८१, शुक्रबार

सरकारी सञ्चार माध्यमले जनताको आवाज बोल्नुपर्छ : मन्त्री शर्मा

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : सागर बस्नेत

काठमाडौं, पुस १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रिन्टेड मिडियाको भविष्य अझै सुन्दर भएको तर त्यसको सही व्यवस्थापनको खाँचो रहेको बताउनुभएको छ। गोरखापत्र संस्थानको अङ्ग्रेजी प्रकाशन दि राइजिङ नेपाल दैनिकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सरकारी सञ्चार माध्यमलाई सरकारी मान्छेले मात्र पढ्नेखालको नभइ सबै पक्षका लागि पठनीय बनाउन आवश्यक रहेको उहाँले सुझाव दिनुभयो । सरकारी सञ्चारमाध्यमप्रति पाठकको हेर्ने दृष्टिकोण अझै सरकारी नै भएको चर्चा गर्नुहुँदै उहाँले सरकारी सञ्चार माध्यमलाई प्रतिस्पर्धी र समयअनुसार सबल बनाउन अनिवार्य रहेको बताउनुभयो । "धेरैभन्दा धेरै जनताको आवाज बुलन्द गर्ने, जनताको चेतना परिवर्तन गर्ने, राज्यबाट पछाडि पारिएका समुदाय र वर्गको आवाज बोल्ने काम सरकारी सञ्चार माध्यमले गर्न सक्नुपर्छ" मन्त्री शर्माले भन्नुभयो ।


उहाँले थप्नुभयो, “अहिलेसम्म भएको कामको समीक्षा गर्दै आगामी दिनमा गोरखापत्र र दि राइजिङ नेपालका सामग्रीलाई विशेष ध्यान दिएर अगाडि बढ्नुहोला । त्यसका लागि सरकार र मन्त्रालयबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न सरकार तयार छ ।” 

“तपाईंहरु आफ्नो जिम्मेवारीप्रति इमानदार भइदिनुस्, सरकारले आफ्नो काम र जिम्मेवारीप्रति इमानदार प्रयास गर्नेछ” उहाँले भन्नुभयो । सो अवसरमा मन्त्री शर्माले सरकारी सञ्चार माध्यमबाट नागरिकको ठूलो अपेक्षा रहने भएकाले आवाजविहीनको आवाज बन्न गोरखापत्र संस्थानका प्रकाशनहरु सक्नुपर्ने उहाँले सुझाव दिनुभयो । 

मन्त्रालयका सचिव कृष्णबहादुर रावतले सरकारी सञ्चार माध्यमप्रति नेपाली जनता र आम पाठकको ठूलो अपेक्षा रहेकाले गुणस्तरीय सामग्री उत्पादन गर्न आग्रह गर्नुभयो । जनतालाई बाटो देखाउने खालका पाठ्यसामग्री पस्कन उहाँले आग्रह गर्नुभयो । गोरखापत्र संस्थानका प्रकाशनहरु समयअनुसार प्रतिस्पर्धी बनिरहे पनि अझै परिपक्व र गुणस्तरीय बनाउन आवश्यक रहेको उहाँले सुझाव दिनुभयो । 


कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत । 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सरकारी सञ्चार माध्यमले पस्किने सामग्री गुणस्तरीय र विश्वसनीय बनाउन चुनौती रहे पनि संस्थान टिम त्यसमा सक्रिय रहेको बताउनुभयो । मन्त्रालयले गरेको अपेक्षाअनुरुप संस्थानको सिङ्गो टिम सक्रिय रहेको चर्चा गर्नुहुँदै उहाँले संस्थानका प्रकाशन आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी ।

पूर्वाधारका हिसाबले गोरखापत्र संस्थान निकै कमजोर रहे पनि भएको पूर्वाधारको सही सदुपयोग गरी संस्थानका प्रकाशनलाई बजारमा प्रतिस्पर्धी बनाइरहेको उहाँले जानकारी दिनुभयो । गोरखापत्र संस्थानका प्रकाशन निरन्तर राज्यलाई गुन लगाउँदै आएको बताउनुहुँदै अध्यक्ष सुवेदीले भौतिक पूर्वाधारमा सबल बनाउन सरकार र मन्त्रालयले ध्यान दिनुपर्ने उहाँले आग्रह गर्नुभयो । कम्तीमा संस्थानको भवन पुनर्निर्माणको कामलाई प्राथमिकतामा सरकारले राखिदिनुपर्छ, संस्थानका कर्मचारीहरु जोखिमयुक्त भवनबाट कामकाज गर्न बाध्य रहेको उहाँले बताउनुभयो । जोखिम मोलेर कर्मचारी तथा पत्रकारले काम गरिरहेको उहाँले जानकारी गराउनुभयो । 

नयाँ भवन पुनर्निर्माण गर्ने स्रोत संस्थानसँग नरहेकाले सरकारले त्यसको स्वामित्व लिनुपर्ने उहाँले आग्रह गर्नुभयो । आगामी बजेटमा त्यसलाई पार्न पनि उहाँले मन्त्रालय र सरकारसँग आग्रह गर्नुभयो । सुविधा सम्पन्न भौतिक पूर्वाधार संस्थानले पाएमा काम सहज ढङ्गले गर्न पाउने र बजारमा प्रतिस्पर्धा गर्न सक्ने उहाँले आशय व्यक्त गर्नुभयो । आर्थिक मन्दिका बाबजुद संस्थानले आफ्नो विक्री र विज्ञानमा बढोत्तरी गरेको उहाँले जानकारी गराउनुभयो । 

गत आर्थिक वर्षमा ७२ करोड आम्दानी गरेको जानकारी गराउनुहुँदै अध्यक्ष सुवेदीले आगामी दिनमा यसलाई अझ राम्रो परिणाम निकाल्नेतर्फ संस्थान लागिपरेको उहाँले जानकारी गराउनुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले राज्य उदार नरहेको अवस्थामा गोरखापत्र र अंग्रेजी भाषाको दि राइजिङ नेपालको प्रकाशन सुरु भएको चर्चा गर्नुहुँदै राइजिङ दैनिकले नागरिकको विश्वास जगाउने काम गरेको बताउनुभयो । अंग्रेजी भाषाको माध्यमबाट नेपालका गतिविधिलाई विश्वमा चिनाउन राइजिङ नेपालको अतुलनीय योगदान रहेको छ, अहिले अंग्रेजी भाषाका पाठकको संख्या बढ्नुले यसको लोकप्रियता पनि बढाएको छ, उहाँले भन्नुभयो । गोरखापत्रले डिजिटल प्रकाशनलाई पनि अगाडि बढाउने अभियानलाई तिव्र बनाएको छ । 

सो अवसरमा मन्त्री शर्मा तथा सचिव राउतलाई मायाको चिनो प्रदान गरिएको थियो । संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले उहाँहरुलाई संस्थानको प्रथम प्रकाशनलाई मायाको चिनोको रुपमा प्रदान गर्नुभएको थियो ।


दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलियाले सत्य तथ्यको आधारमा जनतालाई सुसूचित गर्ने प्रकाशनको प्रमुख उद्देश्य भएको बताउनुभयो । दि राइजिङ नेपालको सामग्री पढेर जनताहरु सुसूचित भइरहेको र आगामी दिनमा थप परिस्कृत र पठनीय सामग्री पस्केर जनताको सेवा गर्न अङ्ग्रेजी दैनिक तयार रहेको उहाँले बताउनुभयो । समयसापेक्ष सुधार गरी सरकारको सुशासनको अभियानमा योगदान दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 


दि राइजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलियाको सभापतित्वमा भएको वार्षिकोत्सव उदघाटनसत्रमा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी,  महाप्रबन्धक लालबहादुर ऐरी, सम्पादक सल्लाहकार उपेश महर्जन, गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराई, सञ्चारमन्त्रीका प्रेस सल्लाहकार नरेन्द्र केसी, गोरखापत्र संस्थान सञ्चालक समितिका सदस्यहरु, गोरखापत्र संस्थानका प्रकाशनका सम्पादकहरु, विभागीय प्रमुखहरु तथा कर्मचारीको सहभागिता थियो । 


यो पनि पढ्नुहोस

दि राइजिङ नेपाल ५८ औँ वर्षमा प्रवेश

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।