• ४ जेठ २०८१, शुक्रबार

दि राइजिङ नेपाल ५८ औँ वर्षमा प्रवेश

blog

दि राइजिङ् नेपालको ५८ औँ वार्षिकोत्सव कार्यक्रमकाे उद्घाटन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री  रेखा शर्मा । तस्बिर: सागर बस्नेत

काठमाडौँ, पुस १ गते । गोरखापत्र संस्थानको अङ्ग्रेजी प्रकाशन दी राइजिङ नेपाल आजबाट ५७ वर्ष पूरा गरेर ५८ औँ वर्षमा प्रवेश गरेको छ । 

उद्घाटन कार्यक्रम दि राइजिङ् नेपालका प्रधान सम्पादक भीमसेन थपलियाको अध्यक्षतामा सुरु भएको छ। कार्यक्रमको प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री  रेखा शर्माले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, गोरखापत्र संस्थान कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, सल्लाहकार सम्पादक उपेश महर्जन र गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराई, सञ्चारमन्त्रीका प्रेस सल्लाहकार नरेन्द्र केसी, सञ्चालक समिति सदस्य राजकुमार महत रहनुभएको थियो । 


यसै गरी, दि राइजिङ् नेपालका प्रबन्धक सम्पादक परमेश्वरप्रसाद देवकोटा, गोरखापत्र अनलाइनका निमित्त सम्पादक नारदमुनि गौतम, राइजिङनेपालडेली डटकमका संयोजक नन्दलाल तिवारी, युवामञ्च मासिकका सम्पादक उमेशकुमार ओझा, मुना मासिकका निमित्त सम्पादक भक्तबहादुर थापा, मधुपर्कका सम्पादक जयदेव भट्टराईलगायत प्रकाशनका विभागीय प्रमुखहरूको उपस्थिति छ ।

संस्थानका हालका प्रकाशनमध्येको यो दोस्रो हो । तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहका पालामा अङ्ग्रेजी भाषामा दैनिक समाचारपत्रका रूपमा २०२२ साल पुस १ देखि यसको प्रकाशन सुरु भएको हो । 


यसको दर्ता नं. २९।२२८।०२२ हो र पहिलो प्रधानसम्पादक वरुणशमशेर जबरा हुनुहुन्थ्यो । नेपाली भाषामा प्रकाशन भएको गोरखापत्रले मात्रै देश–विदेशसम्मका सबै पाठकलाई समेट्न नसकेकाले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने र सरकार (तत्कालीन श्री ५ को सरकार) का नीति प्रकाश पार्ने आवश्यकता महसुस गरेर ‘दी राइजिङ नेपाल’ को प्रकाशन प्रारम्भ भएको हो । यो नै नेपालको ठुलो आकारको पहिलो अङ्ग्रेजी दैनिक अखबार हो ।

नेपालभित्रै यस अङ्ग्रेजी दैनिक प्रारम्भ हुनुभन्दा धेरै अगाडिदेखि विदेशबाट विभिन्न दैनिक अखबार र अरू पत्रपत्रिका आउने गरेका थिए । यस्तो अवस्थामा जन्मिएर तिनीहरूसँग प्रतिस्पर्धा गर्दै ‘दी राइजिङ नेपाल’ आजको अवस्थामा आइपुग्न यति सरल थिएन । 

अनेक बाधा व्यवधानसँग जुध्दै छापा र राइजिङनेपालडेलीडटकम अनलाइन संस्करणमार्फत आज विश्वका हरेक मुलुकमा आफ्नो पहिचान गराउन यो अखबार सक्षम भएको छ । यसले नेपालस्थित कूटनीतिक नियोग र विदेशी पर्यटकलाई ठुलो सहयोग पुर्‍य ाएको छ ।

पाठकका लागि यस अखबारले देशभित्र र बाहिरका समाचारका साथै राजनीतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, खेलकुदका अतिरिक्त रोचक र ज्ञानवर्धक पाठ्यसामग्री दिँदै आएको छ । हरेक शुक्रवार साप्ताहिक परिशिष्टाङ्क ‘फ्राइडे सप्लिमेन्ट’ प्रकाशन गरिन्छ ।


सुरुमा ‘दी राइजिङ नेपाल’ २०”×३०” को आकारमा छापिन्थ्यो । राष्ट्रिय सञ्चार सेवा योजना लागू भएपछि यो समाचारपत्र २४”×३३” को आकारमा प्रकाशन हुन थाल्यो । त्यस्तै, प्रारम्भमा हाते कम्पोजबाट छपाइ हुन्थ्यो । यसपछि मोनो र लाइनो टाइपको सुविधा प्राप्त भयो । प्रविधिको विकास क्रमसँगै फोटो कम्पोज गरी वेभ अफसेटबाट दैनिक प्रकाशन हुन थाल्यो । 

यो अखबार राष्ट्रिय जनमतसङ्ग्रहपछि दैनिक आठ पृष्ठमा प्रकाशन हुन थाल्यो । अहिले सिटुपी प्रविधिबाट वेभ अफसेट प्रेसमा छापिन्छ ।