• ३ पुस २०८१, बुधबार

रूप फेरियो राताटारको

blog

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, राताटारमा भूकम्पपछि बनेका घर । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

राताटार (सिन्धुली), पुस १ गते । कालोपत्रे सडक, तीन तलासम्मका पक्की घरहरू, विद्युत्, चौबिसै घण्टा खानेपानी प्रायः यी सुविधा सहरी क्षेत्रमा पाइन्छ । बिपी राजमार्गबाट सवारीसाधनमा बढीमा सात मिनेटमा नै पुगिने राताटारले यतिखेर यी सबै सुविधा भएको स्थानको पहिचान बनाएको छ । 

गोलन्जोर गाउँपालिका–७ को राताटार सात वर्षअघिसम्म भत्किएका घर र अस्थायी टहरोले कुरूप थियो । यतिखेर त्यही राताटार रङ्गीन भएको छ । “अहिले त स्वर्ग झैँ भएको छ,” स्थानीय कृष्णबहादुर राईले प्रतिक्रिया व्यक्त गर्नुभयो । “यस्तो होला भन्ने त कल्पना पनि गरिएको थिएन,” उहाँले भन्नुभयो, “पिच सडक गाउँमै आउला भन्ने लागेकै थिएन । भूकम्पपछिको पुनर्निर्माणबाट पक्की संरचना बनेपछि राताटार गाउँको मुहार नै फेरिएको छ ।” 

२०७२ सालको विनाशकारी भूकम्पपछि चार बर्खा र हिउँद टहरोमा कटाउनुभएका राताटारकै प्रदीप राई पुनर्निर्माणबाट पक्की घर बनेपछि यतिखेर हाइसन्चोमा हुनुहुन्छ । “ऋण धन त्यस्तै हो,” उहाँले भन्नुभयो, “हावाहुरी र अब सानातिना भूकम्पको डर अब भएन ।” उहाँले भूकम्पका बेला टहरोमा ज्यादै दुःखका दिन गुजारेको स्मरण गर्नुभयो । “कति दुःख काटियो टहरामा बयान गरेर साध्य छैन,” प्रदीपकी श्रीमती उर्मिलाले भन्नुभयो, “आफैँ खटेर घर निर्माण गर्दा पनि १५ लाखको हाराहारीमा खर्च भयो । अब ढुक्क छ । पाँच लाख ऋण गरेका छौँ ।”

राताटारका भएका सबै ५६ घर भूकम्पले ढालेको थियो । ती सबै पक्की र जस्तापाताको छानाले टल्किएका छन् । एकाध नजिकैको खुर्कोट बजारतिर झरेकाले घर तथा गोठ खण्डहर बनाएर छाडेका छन् । स्थानीयका अनुसार केहीले मात्र माटोढुङ्गाको घर बनाएका छन् । नत्र अधिकांशको छत ढलान गरेर नै घर बनेको छ । तीनकोठे र चारकोठे घर धेरै बनेका छन् ।

भूकम्पले ध्वस्त बनाएको राताटारमा यतिखेर तीनतले पक्की भवनसमेत बनेको छ । स्थानीय शिक्षक यज्ञबहादुर राईले उक्त घर निर्माण गर्नुभएको हो । नेपालको नमुना १० साना सहरमध्येमा खुर्कोट परेपछि साना सहर आयोजनाले राताटारमा सडक कालोपत्रे गरेको छ । पहिला उजाड लाग्ने राताटारमा यतिखेर कायापलट भएको छ । सडक कालोपत्रे भएपछि अन्यत्र सरेर घर बनाउने योजना बनाएकाले समेत राताटारमा बनाएका स्थानीय सावित्रा राईले सुनाउनुभयो ।“बेँसीमा घर बनाउने योजनामा थियौँ तर सडक कालोपत्रे भएपछि राताटारमा नै बनायौँ,” उहाँले भन्नुभयो, “खुर्कोट बजार आसपास जग्गा हुनेले घर सारे पनि पाकाहरूको भने दैनिकी राताटारमै बित्ने गर्छ ।”

राताटारवासीलाई भूकम्पले मात्र हैन दशकअघि अर्को महाविपत्ति परेको थियो । स्थानीयका अनुसार २०७० साल चैत २८ गते भएको आगलागीमा परेर राताटारका १६ घर खरानी बनेका थिए । दुई वर्षपछि भूकम्पले अर्को पीडा थपिदियो । आगलागीमा परेर खरानी भएको घरको पीडा भुलाउन पाँच लाख लगाएर चिरिच्याट्ट परेको घर बनाउनुभएका सन्तोष राईलाई भूकम्पले फेरि अर्को पीडा दिएको थियो । 

“परिश्रमले बनाएको घर धुलो बनेर उड्यो,” पीडाको स्वरमा उहाँले भन्नुभयो, “आगलागीमा परेर खरानी भएपछि ऋण काढेर घर बनाएका थियौँ । दैवले सहेन, फेरि भूकम्पले ढाल्यो । फेरि ऋण गरेर भूकम्प प्रतिरोधी घर बनाइएको छ ।”

कालोपत्रे सडक बनेसँगै जग्गाको भाउ आकासिएकाले चिन्ता नलिएको स्थानीयहरू बताउँछन् । एक रोपनीको पाँच लाख पनि नजाने जग्गा अहिले आनाको तीन लाखसम्ममा कारोबार हुन थालेको छ ।