• १५ वैशाख २०८१, शनिबार

एकै रातमा आठ वटा मोटरसाइकल चोरी

blog

फाइल तस्विर ।

लक्ष्मण पौडेल

भैरहवा, मङ्सिर २९ गते । सिद्धार्थनगर नपा–११ स्थित सिसवा, भुजौली र पिपरिया लगायतका गाउँमा एकैरात आठवटा मोटरिाइकल चोरी भएको छ । 

सडकसँग जोडिएका घरको सडक निर्माणका क्रममा कम्पाउण्ड पर्खाल भत्काइएको ठाउँबाट ती मोटरसाइल चोरी भएका हुन् । पर्खाल भत्काइएको वर्षौं बिते पनि सडक नबन्दा टोलका सबै घर असुरक्षित भएको भन्दै स्थानीय त्रसित भएका हुन् ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय, रुपन्देहीमार्फत नालीसहितको पक्की सडक निर्माण जारी छ । धुलोको प्रकोप र चोरीडकैतीको घटनाका कारण यतिबेला तीनवटै सिङ्गो गाउँ आक्रान्त बनेको छ । 

"सडक र नाली बनाउने भन्दै कम्पाउण्ड भत्काइएपछि हामीले आफ्नो सवारी साधन रातमा पनि घर अगाडि नै खुल्ला ठाउँमा पार्किङ गर्न बाध्य थियौं", सिद्धार्थनगर नगरपालिका–११ सिसवा गाउँका नफिस आलमले भन्नुभयो, "यही मौका छोपेर चोरले छानी छानी मोटरसाइकल चोरी गरेछ ।"

गत सोमवार २५ गते राति सिद्धार्थनगर नगरपालिका–११ मा पर्ने सिसवा, भुजौली र पिपरिया गाउँमा चोरको समूहले एउटै समयमा घर बाहिर पार्किङ गरेर राखिएको अवस्थामा आठ वटा मोटरसाइकल चोरी गरेको हो । पीडितले घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा निवेदनसहितको जाहेरी दिएका छन् । चोर र चाेरी भएको मोटरसाइकलका बारेमा अहिलेसम्म पत्तो लागेको छैन ।

आलमले भन्नुभयो, "एका बिहानै गाउँमा मोटरसाइकल चोरी भएको हल्ला जताततै भयो । हल्लाले ब्युझेपछि उठेर हेर्दा मेरो पनि मोटरसाइकल चोरी भएको रहेछ ।" उहाँले एकै रातमा चोरको समूहले छानीछानी आठ वटा मोटरसाइकल चोरी गरेपछि गाउँ आतङ्कित बनेको बताउनुभयो । आलमका अनुसार सिसवा गाउँबाट पाँचवटा, पिपरियाबाट दुई वटा र भुजौली गाउँबाट एउटा मोटरसाइकल चोरी भएको हो ।

सिसवा गाउँबाट आफ्नोसहित मूलचन्द चौधरी, असफाक आलम, महबुव आलम, अफताव आलम, भुजौली गाउँमा बेलास नामका व्यक्तिको र पिपरिया गाउँमा नातेदारको घरमा पाहुना बनेका दुईजनाको मोटरसाइकल चोरी भएको हो ।

आलमले भन्नुभयो, "यस घटनापछि चोरी हुने डरले सबैले आफ्नो मोटरसाइकल बोकेर घरको कोठाभित्र राखेर ताल्चा लगाउन थालेका छन्", आलमले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख एसपी भरतबहादुर बिकले चोरीको घटनाका वारेमा प्रहरीले गम्भीरताका साथ छानबिन र सोधखोज जारी राखेको बताउनुभयो । 

उहाँले शङ्कास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिइ छानबिन गरिएको बताउनुभयो । ती तीनवटा गाउँ भारततसँग सीमाना जोडिएको सीमावर्ती गाउँ हुन् । करिब एक किलोमिटरको दूरीमा नेपाल-भारत सिमाना छ ।