• १५ मंसिर २०८१, शनिबार

बाँकेमा ९५ जनाले लिए स्थायी बन्ध्याकरणको सेवा

blog

स्थायी बन्ध्याकरणको सेवा प्रदान गर्दै स्वास्थ्य कार्यालय र परिवार नियोजन सङ्घका स्वास्थ्यकर्मी । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, मङ्सिर २९ गते । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिरहेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा ९५ जना नागरिकले सेवा लिएका छन् ।

गत मङ्सिर १४ गतेदेखि जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेको विभिन्न ७ वटा घुम्ती शिविरबाट ९५ जना नागरिकले स्थायी बन्ध्याकरणको सेवा लिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । बिहिबार बाँकेको खजुरा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको घुम्ती शिविरमा एक पुरुष र १८ महिला गरी १९ जनाले स्थायी बन्ध्याकरणको सेवा लिनुभएको उहाँले बताउनुभयो ।

यसअघि गङ्गापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा तीन पुरुष र आठ महिला गरी ११ जना, राप्तीसोनारी ६ कमैयाडाँडामा सञ्चालन गरिएको शिविरमा एक पुरुष र १५ महिला गरी १६ जना, राप्तीसोनारी ४ स्थित राप्तीसोनारी अस्पताल बैजापुरमा सञ्चालन गरिएको घुम्ती शिविरमा एक पुरुष र १४ जना महिला गरी १५ जना नागरिकले स्थायी बन्ध्याकणको सेवा लिनुभएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी, डुडुवा २ बेतहनी स्वास्थ्य चौकीको शिविरमा सात जना महिला, कोहलपुर नगर अस्पतालको शिविरमा दुई पुरुष र १८ महिला गरी २० जना र बैजनाथ गाउँपालिकाको नौबस्ता स्वास्थ्य चौकीको शिविरमा पाँच महिला र दुई पुरुष गरी सात जना गरी कुल ९५ जना नागरिकले स्थायी बन्ध्याकणको सेवा लिनुभएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार जिल्लामा सञ्चालन गरिएको घुम्ती शिविरमा हालसम्म ८५ जना महिला र १० जना पुरुषले स्थायी बन्ध्याकरणको सेवा लिनुभएको हो । उहाँका अनुसार ३० गते बेलभार स्वास्थ्य चौकी र पुस २ गते नेपाल परिवार नियोजन सङ्घ बाँकेमा घुम्ती शिविर सञ्चालन हुनेछ ।

स्वास्थ्य कार्यालयले गत मङ्सिर १४ गतेदेखि जिल्लाका विभिन्न स्थानमा निःशुल्क रुपमा पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्याप स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालन गरेको छ।

स्वास्थ्य कार्यालयको आयोजना र नेपाल परिवार नियोजन सङ्घ नेपालगन्जको प्राविधिक सहयोगमा जिल्लाका विभिन्न स्थानमा परिवार नियोजन सेवाको निःशुल्क स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सन्तानको रहर पूरा भएका जोसुकै नागरिकले स्थायी बन्ध्याकरण गर्न सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।