• ६ जेठ २०८१, आइतबार

मेलम्चीमा हेलचेक्राइँ

मेलम्चीको पानी उपत्यका आउने टुङ्गो छैन

blog

काठटमाडौं, मङ्सिर २९ गते । काठमाडौंवासीले वर्षाैंपछि मेलम्ची खानेपानीको स्वाद चाख्न पाए पनि बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण फेरि अन्याेल बढाएको छ । प्राकृतिक प्रकोपसँगै सरकारी बेवास्ताका कारण पनि मेलम्चीको पानी काठमाडौैंमा आउन सकेको छैन । 

मेलम्ची खानेपानी आयोजना विकास समितिको कमजोर सक्रियताका कारण मेलम्चीको पानी उपत्यका आउन कठिनाइ भएको छ । सरकारी बेवास्ताका कारण मेलम्चीको पानी काठमाडौं नआएको स्थानीयको आरोप छ । गतवर्ष मङ्सिरको २३ गते उपत्यकामा मेलम्चीको पानी आएपनि यसवर्ष भने मङ्सिर सकिन लाग्दा पनि आउन सकेको छैन । सरकारी उदासीनताका कारण यसवर्ष वर्षायाम सकिएको चार महिना बित्दा पनि उपत्यकामा पानी आउन सकेको छैन । 

कीर्तिपुर नयाँबजारका रत्न महर्जन मेलम्चीको पानी समयमै काठमाडौं नआउनुमा सरकारी संयन्त्र नै उदासीन भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “काठमाडौंमा अहिले पानीको यस्तो हाहाकार छ । सरकारले चाह्यो भने केही दिनभित्र नै उपत्यकामा पानी ल्याउन सक्छ । तर,सरकार पानी ल्याउने कुरामा उदासीन छ ।” 

गतवर्ष मङ्सिर महिनामै उपत्यकामा पानी वितरण हुनु र यसपाली मङ्सिर कटिसक्दा पनि पानी ल्याउने विषय अन्याेलमै रहनु् सरकारको चरम लापरबाही भएको उहाँको आरोप छ । उहाँले थप्नुभयो, “गतवर्ष चुनाव भएकाले चाँडै पानी ल्याएर मत बटुले । अहिले वर्षा सकिएको यतिका समय भयो । पानी ल्याउने विषयमा सरकारले अझै प्रभावकारी काम गर्न सकेको छैन ।” 

उपभोक्ताले मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारलाई ताकेता गरे पनि काम भने प्रभावकारी भएको छैन । दीर्घकालसम्म मेलम्चीको पानीले प्यास मेट्ने उपत्यकावासीको सपना अझै पूरा हुन सकेको छैन । 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गत असार २ गते मेलम्ची आयोजनाको स्थलगत अवलोकन गरेर नै मेलम्चीको पानी चाँडै काठमाडौं लैजाने र स्थानीयका मागहरु पनि सम्बोधन गरिने जनाए पनि न काठमाडौंमा पानी आउन सकेको छ न त स्थानीयहरुको माग नै पूरा भएको छ ।  

२०७८ सालको वैशाखमा उपत्यकामा पहिलो पटक मेलम्चीको पानी आएको थियो । उपत्यकामा भएको पानीको हाहाकार टर्ने भो भनेर स्थानीय खुसी थिए । तर यो खुसी अहिले आशमै बितेको छ । 

उपभोक्ताले मेलम्चीको पानी एक साताभित्र काठमाडौं नल्याए आन्दोलन थाल्ने जनाएका थिए । त्यसपछि खानेपानी मन्त्री महिन्द्रराय यादवले चाँडै उपभोक्तालाई मेलम्चीको पानी खुवाउने आश्वासन दिनुभएको थियो । 

त्यसलगत्तै मन्त्री यादव मेलम्चीको स्थलगत अवलोकन गर्न जानुभएको थियो । स्थलगत अवलोकन लगत्तै मेलम्चीवासीका मागहरु सम्बोधन गर्दै काठमाडौंवासीलाई पानी खुवाइने बताउनुभएको थियो । 

तर, मन्त्रीले आश्वासन दिएको दुई साता बिते पनि काठमाडौंमा पानी भने आउन सकेको छैन । मेलम्चीका स्थानीय सिपी दुलाल मेलम्चीको पानी काठमाडौं लैजान स्थानीयको कुनै अवरोध नरहेको बताउनुभएको छ । 

उहाँले भन्नुभयो, “मेलम्चीको पानी काठमाडौं उपत्यका लैजान हाम्रो कुनै अवरोध छैन ।तर, सरोकारवालाले हामीलाई देखाएर पानी लान नपाएको बताउँदै आउनुभएको छ । यो गलत छ । ”बस्तीको सुरक्षा र विद्यालयजस्ता पूर्वाधारको निर्माण गरिदिनुपर्ने आफूहरुको माग रहेपनि पानी काठमाडौं लैजाने कुरामा कुनै अवरोध नरहेको उहाँले बताउनुभयो । 

४० वर्षदेखिको सडकको अवस्था नाजुक रहेको तर यसको स्तरउन्नतीमा कसैको ध्यान नदिएकाले यसको विस्तारमा पनि आफूहरुको माग रहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “मेलम्ची आउने सडकको अवस्था ४० वर्षदेखि सुधार हुन सकेको छैन । बरु झन् बिग्रिएको छ , प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी ओली आएर सबै माग पूरा गर्ने आश्वासन दिनुभयो । तर, हाम्रा माग केही पनि पूरा भएका छैनन् ।” अहिले मेलम्ची खानेपानीको आयोजनासम्म पुग्नका लागि कमजोर अस्थायी संरचना बनाइएकाले यसले थप जोखिम निम्त्याउने उहाँको भनाइ छ । 

दुलालले भन्नुभयो, “अहिले मेलम्चीको मुहानमा पुग्नका लागि बनाइएका अस्थायी संरचनाहरु जोखिमयुक्त छन् । सानो जस्तापाताको प्रयोगले पुल निर्माण गरिएको छ । यसले ठूला मालबाहक टिप्परहरुको क्षमता धान्न सक्दैन  ।त्यसैले यसले ठूलो जोखिम निम्त्याउँछ ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी अध्यक्ष जाक्की अहमद अन्सारी मेलम्चीको पानी छिटोभन्दा छिटो उपत्यका ल्याउन प्रयास भइरहेको बताउनुहुन्छ । अहिले मेलम्चीको मुहानसम्म पुग्ने अस्थायी सडकको निर्माण भएकाले अब काम द्रुतगतिमा अघि बढाइने उहाँ बताउनुहुन्छ । 

 एक नम्बर गेट र नौ नम्बर गेटमा १५ मिटर तलसम्म लेदोसहितको गेग्रानले पुरिएको छ ।  यसलाई सफा गरेर मात्र पानी ल्याउन सकिने  भएकाले पानी कहिलेसम्म आउन सक्छ ठ्याक्कै भन्न नसकिने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “गेट नम्बर १ र ९ नम्बर गेटमा १५ मिटर तलसम्म गेग्रानले पुरिएको छ । यो सफा गरेपछि मात्र पानी पठाउन सकिन्छ  ।त्यसैले कहिलेसम्म पानी उपत्यकामा आउँछ । यसै भन्न सकिँदैन । ” यस वर्ष गतवर्षको भन्दा बढी क्षति भएको उहाँको भनाइ छ । 

निर्माण कम्पनीले काम नै रोक्यो

मेलम्ची खानेपानी आयोजनाको जिम्मा पाएको सिनो हाइड्रो कम्पनीले अहिले काम रोकेको छ । निर्माणकार्यमा रकम उपलब्ध नभएको र तत्काल रकम उपलब्ध नगराए काम गर्न नसकिने भन्दै अहिले कम्पनी कार्यस्थलमा नगएको मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी अध्यक्ष जाक्की अहम्मद अन्सारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्माणको जिम्मा पाएको सिनो हाइड्रो कम्पनीले रकम अभाव भएको र रकम उपलब्ध नभइन्जेल काम नगर्ने भनेर अहिले काम रोकेको छ ।” कम्पनीको सम्झौता नसकिएकाले कम्पनीको अनुमतिबेगर अर्को कम्पनीलाई काममा लगाउन सकिने अवस्था नरहेको उहाँको भनाइ छ । 

खर्च बढेको बढ्यै 

दुई वर्ष अगाडि हेडवर्क्स संरचना पूर्ण क्षतिग्रस्त भएपछि अस्थाइ संरचनाहरू बनाउन अघिल्लो वर्ष १८ करोड रुपियाँ र त्यसपछि गेटहरू मर्मत गर्न पाँच–छ  करोड रुपियाँ खर्च गरिएको छ । 

हेडवर्क्स, करिब २७ किलोमिटर लामो मुख्य सुरुङ, सुन्दरीजलमा पानी प्रशोधन, पहुँच मार्ग अनि स्थानीयवासीलाई मुआब्जा, क्षतिपूर्ति लगायतका काममा ३० अर्ब रुपियाँ खर्च भइसकेको अनुमान छ।

त्योभन्दा बाहेक पनि पाइपलाइन बिछ्याउनेदेखि वितरणका काममा अर्को १५–२० अर्ब खर्च भइसक्ने अनुमान छ विकास समितिको छ ।।

अहिले प्रथम चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याइने । निकट भविष्यमै याङ्ग्री र लार्के नदीको पानी मिसाएर दैनिक ५४ करोड लिटर पानि उपत्यका  ल्याउने सरकारको योजना छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।