• ११ असोज २०८१, शुक्रबार

सेतो हिमाली गिद्ध भेटियो

blog

मीना कँडेल 

कावासोती, मङ्सिर २९ गते । नवलपुरको कावासोती–१३ मा स्थापना गरिएको गिद्ध जटायु रेस्टुरेन्टमा सेतो रङको हिमाली गिद्ध भेटिएको छ । गत आइतबार पहिलो पटक पूरै सेतो रङ भएको हिमाली गिद्ध भेटिएको हो । नेपालमा अहिलेसम्म पाइएका हिमाली गिद्ध फिक्का मैलो र खैरो रङको देखिएको थियो । नेचर गाइड प्रेम महतोले लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि स्थापना गरिएको गिद्ध जटायु रेस्टुरेन्टमा हिमाली गिद्ध देखा परेको बताउनुभयो । 

वाइल्डलाइफ फोटोग्राफर पेम्बा शेर्पा, सुगम ताम्राकार, ताहिर अहमद, राजेन्द्र महर्जन र नेचर गाइड प्रेम महतोको टोलीले पहिलो पटक नेपालमा सेतो रङको हिमाली गिद्ध देख्नुभएको हो । जाडोयाममा हिमाली, उच्च पहाडी र तिब्बती क्षेत्रबाट बसाइँ सरेर हिमाली गिद्ध तराईतिर झर्ने गर्छन् । यही क्रममा यो पनि आएको उहाँको भनाइ छ । 

जटायु रेस्टुरेन्टमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजाति (हाडफोरबाहेक) का गिद्ध पाइने जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरीले बताउनुभयो । यस क्षेत्रमा गिद्धको सङ्ख्यामा ४०० प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ । जटायु रेस्टुरेन्टमा रैथाने प्रजातिका डङ्गर, सेतो, सुन र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राज, हिमाली, खैरो र लामो ठोडे गिद्ध रहेका छन् । समुदायले व्यवस्थापन गरेको यस जटायु रेस्टुरेन्टमा गिद्धलाई नियमित आहाराका रूपमा मासु खुवाउने गरिएको छ । हालसम्म केन्द्रमा प्रजनन भएका ६९ गिद्ध रेस्टुरेन्टमा ल्याएर छोडिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै ७७ जङ्गली प्राकृतिक गिद्धमा पनि रेडियो कलर लगाएर अध्ययन गरिएको उहाँको भनाइ छ । जटायु रेस्टुरेन्टमा छोडिएको गिद्ध खानाका लागि प्रतिदिन दुई सय किलोमिटरसम्म उडेको अध्ययनले देखाएको चौधरीले बताउनुभयो । 

चौधरीका अनुसार लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाट रेस्टुरेन्टको सञ्चालन र व्यवस्थापन गरिएको हो । पशुचौपाया बिरामी हुँदा उनीहरूलाई दुःखाइ कम गर्न दिइने ‘डाइक्लोफेनेक’ जातको औषधीरहित शुद्ध आहारा उपलब्ध गराई गिद्धलाई संरक्षण गर्ने उद्देश्यले पिठौलीमा एसियाकै पहिलो समुदायस्तरको जटायु रेस्टुरेन्ट खोलिएको हो । नेपालमा पहिलो पटक सन् २००६ मा गिद्ध अर्थात् जटायु रेस्टुरेन्टको स्थापना गरिएको थियो । कावासोती–१३ मा रहेको नमुना मध्यवर्ती सामुदायिक वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।