• २० वैशाख २०८१, बिहिबार

एलपीएल : धनगढी स्पोर्ट्स क्लब सेमिफाइनलमा

blog

काठमाडौँ, मङ्सिर २८ गते । बायाँ हाते स्पिनर भुवन कार्कीले असाधारण बलिङ प्रदर्शन गर्दै आठ विकेट लिएपछि धनगढी स्पोर्ट्स क्लब कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनल प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेशको लागि जित्नैपर्ने खेलमा धनगढी स्पोर्ट्स क्लबले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरलाई ६७ रनले हरायो । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  यसअघि समूह ‘बी’ बाट यूथ अफ टिकापुर, समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेका छन्।

फाप्ला क्रिकेट मैदानमा धनगढी स्पोर्ट्स क्लबले दिएको १६४ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोर ले १९.३ ओभरमा ९६ रन बनाउँदा सबै विकेट गुमायो । लक्ष्य पछ्याउने क्रममा ७९ रनमा एक विकेट गुमाएको अवस्थाबाट थप १७ रन जोड्दा खप्तड स्पोर्ट्सले सम्पूर्ण विकेट गुमाएको थियो । 

प्लेयर अफ दि म्याच घोषित भएका भुवन कार्कीले आठ विकेट लिने क्रममा चार ओभरमा १८ रन खर्चिनुभयो । स्पिनर सुनिल धमलाले दुई विकेट लिनुभयो । खप्तड इन्डोर स्पोर्ट्सको ब्याटिङमा अभिषेक थापाले सर्वाधिक ४२ रन तथा प्रकाश पाण्डेले ३० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन्। यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले २० ओभरमा पाँच विकेट गुमाएर १६३ रन बनाएको थियो । 

धनगढी स्पोर्ट्सको लागि ओपनर सुनिल धमलाले अर्धशतकीय योगदान दिनुभयो । धमलाले ५० बलमा  पाँच चौका र दुई छक्का प्रहार गर्नुभयो । कप्तान भुवन कार्कीले ३६, प्रनित थापाले २६ तथा अमर सिंह रौटेलाले अविजित १२ रन बनाउनुभयो । बलिङमा खप्तड इन्डोर स्पोर्ट्सको रवी बिस्ट र आर्यन बिस्टले दुई दुई तथा वीरेन्द्र बमले एक विकेट लिनुभयो ।

प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपियाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ टोलीको टिम सहभागिता रहेको थियो । फाइनल खेल शनिबार हुनेछ ।