• ५ साउन २०८१, शनिबार

एमाले अध्यक्ष ओलीद्वारा चार वर्ष पुरानो पार्क उद्घाटन

blog

धनकुटाको हिलेस्थित पार्कजोनमा उद्घाटन गर्दै एमाले अध्यक्ष अध्यक्ष ओली ।

कबिराज घिमिरे 

हिले, मङ्सिर २८ गते । सङ्कल्प यात्राको क्रममा एमाले अध्यक्ष के पी शर्मा ओलीले धनकुटाको हिलेमा ४ वर्ष पुरानो पार्क उद्घाटन गर्नुभएको छ । प्रदेश सरकार वन, वातावरण तथा पर्यटन मन्त्रालय विराटनगरको लगानीमा धनकुटा नगरपालिका १ हिले बिच बजारमा करिब १ रोपनी भन्दा बढी क्षेत्रफलमा निर्माण भएको हिलेपार्क जोन उद्घाटन गर्नुभएको हो ।  

पार्क आ.व.०७६-०७७ को असार मसान्तमै निर्माण कार्य सम्पन्न भएको यो पार्क केही समयपछि सञ्चालनमा आएको थियो । धनकुटा नगरपालिकाको पहलमा करिब १ रोपनी भन्दा बढी क्षेत्रफलमा ७० लाख रुपियाँको हिलेपार्क जोन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष धिरेन् थिङले जानकारी दिनुभयो । 

पार्कमा स्थानीय वृद्धवृद्धाहरुलाई विश्रामलय, आन्तरिक तथा बाह्य पर्यटकहरूलाई हिले र आसपासको क्षेत्रको पर्यटकीय स्थलहरूको जानकारी गराउने उद्देश्यले सूचना केन्द्र समेत निर्माण गरिएको छ । त्यस्तै पार्कमा एकै पटकमा ६ जना सम्मले प्रयोग गर्न मिल्ने महिला पुरुषको छुट्टा–छुट्टै सुविधा सम्पन्न शौचालयको व्यवस्था पनि छ ।

पार्कमा आउने पर्यटहरुलाई घण्टौँसम्म रमाउन धनकुटा नगरपालिकाले फ्री वाईफाईको प्रबन्ध मिलाएको छ । पर्यटक तथा पार्कमा आउने जोकोही आगन्तुकहरूको लागी बस्नको लागि १६ वटाभन्दा बढी फलामको बेन्च निर्माण गरिएको छ । हिलेपार्क जोनलाई सजाउनको लागी विभिन्न साइजका माटाका घैला १ दर्जन, गमला २ सय थान, २ वटा बाघको मूर्ति र विभिन्न प्रजातिका साइकस, क्याक्टस लगायत दर्जनौँ रङ्गका फूलहरू सजाएर राखिएका छन् ।