• ५ जेठ २०८१, शनिबार

कृषिजन्य उत्पादनको बजारीकरण गर्दै हाटबजार

blog

फाइल तस्बिर

कञ्चनपुर, मङ्सिर २८ गते । बेलौरी नगरपालिका-३ का समीर चौधरीलाई बारीमा उत्पादित तरकारी बेच्ने झन्झट हटेर गएको छ । उत्पादित तरकारी सहजरुपमा गाउँ नजिकैको कलकत्ता बजारमा सञ्चालित हाटबजारमा बिक्री हुन थालेपछि उहाँ निकै खुसी छन् । 

हप्ताको प्रत्येक शनिबार बेलौरी-८ कलकत्तामा हाटबजार लाग्ने गरेको छ । त्यही बजारमा चौधरीले च्याउ, काउली, गोलभेँडा, आलु, खुर्सानी, सिमला मिर्चा, भण्टा, प्याजलगायत बेच्नुहुन्छ । तीन हप्ता देखि उहाँले निरन्तर रूपमा हाटबजारमा पुगेर तरकारी बेच्दै आउनु भएको छ । “काउली मात्रै प्रति हप्ता दुईदेखि तीन कुन्टल बिक्री हुने गरेको छ” उहाँले भन्नुभयो, “तीन किलो काउली सयमा बिक्री गरी रहेका छौँ ।” अन्य तरकारी ५० देखि सय प्रति किलोका दरले बिक्री हुने गरेको उहाँको भनाई रहेको छ । 

“हाटबजार सञ्चालन नहुँदा साइकलमा गाउँ-गाउँ पुर्‍याएर तरकारी बेच्दा निकै श्रम गर्नुपर्ने अवस्था थियो,” उहाँले भन्नुभयो, “दिनभरि साइकल डुलाउँदा तरकारी बिक्री नभए निकै निराश हुनुपर्ने अवस्था थियो, हाल हप्ताको एक दिन लाग्ने हाटबजारमा तरकारी हातो हात बिक्री हुन्छ, बाँकी अरू दिन थोक व्यापारीलाई तरकारी बेच्छौँ ।” हाटबजारमा तरकारी बेच्दै आउनु भएका राजेश केसी हाटबजार सञ्चालनमा आएपछि किसानलाई बारीमा उत्पादित तरकारीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुहुन्छ ।

महिनामा तीन, चार दिन हाटबजार लाग्ने भएकाले किसानको तरकारी महेन्द्रनगर, धनगढीलगायत बजारबाट आएका व्यापारीले खरिद गरी लग्ने गरेको उहाँले बताउनुभयो । केसी जस्तै हाटबजारमा अनिल चौधरीले आफ्नै फर्ममा पालेका बङ्गुर र कुखुराको मासु बिक्री गर्दै आउनु भएको छ । हाटबजारमा लाग्ने दिन उहाँले ५० देखि ८० किलोसम्म बङ्गुरको मासु तीन सय ८० का दरले बिक्री गर्नु हुन्छ । 

कुखुराको मासु भने २० देखि २५ किलो सम्म तीन सय ४० का दरले बिक्री हुन्छ । “हाटबजारमा बङ्गुर र कुखुराको मासु बिक्री हुन थालेपछि ग्राहक नपाउँदा विगतको जस्तो भौतारीदै हिँड्नु परेको छैन” उहाँले भन्नुभयो, “हाटबजार नभएका बेला गाउँमै सञ्चालित पसलबाट मासु बिक्री गर्दै आएका छौँ ।” हाटबजारमा चिनजान भएका व्यापारीले फार्मबाटै कुखुरा र बङ्गुर खरिद गर्न पनि आउन थालेको उहाँको भनाइ रहेको छ । 

हाटबजारमा ७५ पसल सञ्चालका लागि प्रदर्शनी कक्षको व्यवस्था गरिएको छ । यसमा हाल तरकारीका १०, कपडा ३०, मासु सात, मिठाइलगायत खाद्य परिकारका सात वटा गरी ५४ वटा पसल सञ्चालनमा रहेको छ । गत वर्षको दसैँ अघिदेखि हाटबजार सञ्चालनमा ल्याइएको हो । त्यसपछि हाटबजार निरन्तररुपमा सञ्चालन हुँदै आएको छ । हाटबजार सञ्चालनका लागि स्थानीय कोपिला चौधरीको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । 

पहिलो पटक हाटबजार आव ०६०/६१ मा सञ्चालन गरिएको हो । केही वर्ष सञ्चालनपछि बन्दभयो । त्यसपछि वि.सं.२०७३ सालमा पुनः सञ्चालनमा ल्याइयो । “हाटबजार सञ्चालनका लागि प्रक्रिया अगाडी बढाउँदा बढाउँदै कोरोना महामारी आयो, सञ्चालन गर्न सकेनौँ,” अध्यक्ष चौधरीले भन्नुभयो,“ त्यस पछि गत वर्षको असोज १२ गतेदेखि निरन्तर हाटबजार सञ्चालन हुँदै आएको छ ।” तीन महिना सम्म हाटबजारमा आउने किसानलाई निः शुल्क स्टलमा सामान राखेर बेच्ने दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गत वर्षको माघदेखि प्रदर्शनी कक्षमा कृषिजन्य, मासुजन्य र अन्य पसल सञ्चालन गर्ने व्यवसायीबाट ५० शुल्क लिन थालिएको छ । चना चटपटे, चाटलगायतका स-साना पसलबाट ३० र टोकरीमा सामान ल्याएर बेच्ने किसानलाई निः शुल्क बेच्न दिने व्यवस्था गरिएको छ । हाटबजार व्यवस्थापन गर्नका लागि नगरपालिकाले चार लाख अनुदान रकम प्रदान गरेकोमा जसबाट तारजाली राख्ने, गेट निर्माण, पानीको धारा र विद्युतको व्यवस्था मिलाइएको अध्यक्ष चौधरीको भनाई छ । 

हाटबजारमा प्रत्येक हप्ता पाँचदेखि सात लाखसम्मको कृषिजन्य बस्तुको खरिद बिक्रीको हुने गरेको छ । “हाटबजारमा विशेष गरी स्थानीय किसान र स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर बेच्न दिने गरेका छौँ,” उहाँले भन्नुभयो, “जसबाट स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुगेको छ ।” हाटबजारमा स्थानीय कृषि उत्पादन ल्याएर बिक्री गर्न आउने किसानको सङ्ख्या बढ्दै गएकाले स्टलको कमी, धारा, शौचालयको अभाव हुन थालेको उहाँको भनाइ छ । 

हाटबजारमा सामान बेच्न आउने र खरिद गर्न आउने व्यक्तिहरूका सवारी र ढुवानीका सधन पार्किङ गर्नका लागि ठाउँको अभाव रहेको छ । हाटबजार अढाई कठ्ठा जग्गामा सञ्चालन हुँदै आएको छ । हाटबजार सञ्चालन भएपछि व्यावसायिक तरकारी खेती र पशुपन्छीपालन गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेको छ । 

“व्यावसायिक कृषि छाडेका किसान पुनः पुरानै तरिकाले खेती गर्न थालेका छन्” नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक हरिस सेठीले भन्नुभयो, “नगरपालिका क्षेत्रबाट दैनिक दुईदेखि तीन मिनी ट्रक तरकारी कैलालीको धनगढी तर्फ निर्यात हुन थालेको छ ।” हाटबजारमा व्यापारीले आएर किसानसँग कुरा गरी तरकारी खरिद गरेर लैजाने गरेको उहाँको भनाइ छ । 

स्थानीय कृषिजन्य वस्तुको बजारीकरण गर्न हाटबजारले निकै सघाउ पुर्‍याएकोले केही महिना भित्रै नगरपालिकाको वडा नम्बर २ र ४ मा थप हाटबजार सञ्चालन ल्याउनका लागि संम्भाव्यता अध्ययन  भइरहेको उहाँले जानकारी दिनुभयो । “पहिले पनि नगरपालिका क्षेत्रमा तीन हाटबजार सञ्चालनमा थिए” उहाँले भन्नुभयो, “दुई बन्द भए हाल एक मात्रै सञ्चालनमा छ ।” नगरपालिकामा वडा नम्बर ३ र ५ मा तरकारी बिक्रीका लागि सङ्कलन केन्द्र सञ्चालित छन् । रासस