रेखीराम राना
तानसेन, मङ्सिर २८ गते । नेपाली कांग्रेस पाल्पाले प्रथम जिल्ला सम्मेलनको तयारी पूरा गरेको जनाएको छ । यही मङ्सिर ३० गते हुन लागेको प्रथम जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पाल्पाले जनाएको छ ।
कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गरेर प्रथम सम्मेलनको सबै तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले सम्मेलन व्यवस्थित र मजबुत पार्टी बनाउन सहयोग पुग्ने बताउनुभयो । तानसेनमा हुने सम्मेलनमा जिल्लाभरिबाट एक हजारभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुने जानकारी उहाँले दिनुभयो ।
सम्मेलनबाट राजनैतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित हुनेछ । यस्तै, जिल्लाको विकास निर्माणका सन्दर्भमा समेत छलफल हुने र त्यसले एउटा प्रारूप तयार गर्ने जिल्ला सभापति श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीभित्र महाधिवेशन तथा निर्वाचनका बेला बनेको गुट उपगुटको अन्त्य गर्न पनि सम्मेलन फलदायी बन्ने सभापति श्रेष्ठको भनाइ छ । सम्मेलनको उद्घाटन महामन्त्री गगनकुमार थापाले गर्नुहुने जिल्ला सचिव सन्तोषकुमार थापाले जानकारी दिनुभयो ।