• १२ असोज २०८१, शनिबार

अत्याधुनिक शौचालय भत्काइयो

blog

नेपालगञ्जको धम्बोझीमा रहेको प्रयोगविहीन स्वचालित शौचालय भत्काएर नयाँ शौचालय निर्माणको काम गरिँदै । तस्बिर : गोविन्द शर्मा ।

गोविन्द शर्मा 

बाँके, मङ्सिर २८ गते । नेपालकै पहिलो स्वचालित अत्याधुनिक शौचालय भत्काइएको छ । नेपालगन्जको धम्बोझीमा चार वर्षअघि निर्माण गरिएको शौचालय केही समयमात्रै प्रयोगमा आएपछि प्रयोगविहीन भएको हो ।

नेपालगन्ज उप-महानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले स्वचालित शौचालय भत्काएर सोही स्थानमा सामान्य शौचालय निर्माण गर्न लागिएको जानकारी दिनुभयो। वातावरण इन्जिनियर डिसीले भन्नुभयो, ‘लामो समयसम्म थन्किएर रहेपछि अब भत्काएर नयाँ बनाउन लागेका छौँ । ’

स्वचालित शौचालय भएकाले समय समयमा आउने समस्याको समाधान गर्ने दक्ष प्राविधिकको अभावमा शौचालय बन्द भई भत्काउनु परेको  उप–महानगरपालिकाले जनाएको छ । यो शौचालय परीक्षणका लागि निर्माण गरिएको हो । 

एसएनभी नेदरल्याण्ड्स विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत  ४६ लाख ३६ हजार रुपियाँको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो । पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र शौच गर्दा स्वचालित रूपमा सङ्गीत बज्ने व्यवस्था थियो । 

फोल्डिङ्गयुक्त भएकाले यसलाई अर्को ठाउँमा समेत सहजै लैजान सकिने व्यवस्था भएपनि प्राविधिक कमजोरी देखिएकाले उप–महानगरपालिकाले भत्काएको जनाएको छ । यो शौचालयमा एकपटकमा ३ जना महिला, ३ जना पुरुष र एकजना फरक क्षमता भएका गरी सातजनाले प्रयोग गर्न मिल्ने गरी निर्माण गरिएको थियो ।

नेपालगन्जको मुख्य चोक सुर्खेत रोड र घरबारी टोल तथा खजुरा रोड आसपासका व्यवसायी तथा यात्रु र बटुवाहरूको सहजताका लागि सार्वजनिक शौचालय निर्माण गरिएको भएपनि प्रयोगविहीन भएपछि आम नागरिकको सहजताका लागि भत्काएर सामान्य शौचालय बनाउन लागिएको उप-महानगरपालिकाले जनाएको छ ।