• ५ जेठ २०८१, शनिबार

गोरुपालक कृषकलाई हलो उपहार

blog

मुसिकोटका कृषकलाई हलो उपहार स्वरुप प्रदान गर्दै नगरप्रमुख सहित सहभागी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मङ्सिर २८ गते । मुसिकोट नगरपालिकाले गोरुपालक ४० जना कृषकलाई हलो उपहार दिएको छ । मुसिकोट नगरपालिका ८ का ४० जना गोरुपालक कृषकलाई हलो अनुदानमा उपहार स्वरूप प्रदान गरिएको वडा अध्यक्ष रमेश विकले जानकारी दिनुभयो ।  

नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गोरुपालक कृषकलाई सम्मान कार्यक्रमबाट उहाँहरूलाई हलो प्रदान गरिएको उहाँले बताउनुभयो । पछिल्लो समय गाउँमा गोरुपाल्ने कृषकहरू हराउँदै गएकाले उहाँहरूलाई प्रोत्साहन गर्नका लागि एक लाखको बजेटबाट हलो, फाली र कारबाही लगायत सामग्री प्रदान गरिएको हो । 

वडा नम्बर ८ का ४० जना कृषकलाई हलो वितरण पश्चात् उहाँहरूलाई कृषि पेसामा टिकाई राख्नका लागि थप टेवा पुग्ने नगरपालिकाले विश्वास लिएको छ । कृषकहरूले उपहार स्वरूप हलो पाएपछि कृषि पेसामा केही भएपनि राहत मिल्ने जनाएका छन् ।

कृषि र पशुपालनबाटै नेपालमा मनग्य आम्दानी गर्न सकिने भएकाले युवाहरूलाई स्वदेशमानै टिकाई राख्नका लागि नगरले विशेष योजना बनाएको नगरप्रमुख जीवन खरेलले दाबी गर्नुभयो । कृषकले उत्पादन गरेका कृषि उपजहरूलाई नगरपालिकाले खरिद गरिदिने गरेको छ ।

कृषकहरूको उत्पादनलाई सुनिश्चित गर्नका लागि नगरपालिकाले न्यूनतम दर रेट निर्धारण गरी खरिद गरिदिने गरेको सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनुभयो । नगरपालिकाले कृषि उपज खरिद गरिदिँदा कृषकहरूलाई बजारको समस्या नहुने र उत्पादनमा केन्द्रित हुन पाउने नगरपालिकाले जनाएको छ ।