• १३ मंसिर २०८१, बिहिबार

ठेकेदार सम्पर्कविहीन भएपछि आयोजना अलपत्र

blog

बझाङको खप्तडछान्ना गाउँपालिकामा रहेको खप्तड पर्यटकीय सडक । तस्बिर : शैलेन्द्र रोकाया

शैलेन्द्र रोकाया

बझाङ, मंसिर २८ गते । ठेकेदार कम्पनीले निर्माण कार्य अलपत्र पारी सम्पर्कविहीन हुँदा करोडौँ मूल्यको सडक आयोजना अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएका कारण बझाङको खप्तडछान्ना गाउँपालिकामा रहेको खप्तड पर्यटकीय सडकको निर्माण कार्य रोकिएको हो । 

खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश बझाङको प्रमुख सडक समेत रहेको कुचेखोला सिल्कावाडा लम्तडा सडक र दारुगाउँ लोखडा पर्यटकीय सडकको निर्माण कार्य तीन वर्षदेखि रोकिएको छ । 

स्थानीयले पटक–पटक सडकको निर्माण सुचारु गर्न पूर्वाधार विकास कार्यालय बझाङमा समेत पटक–पटक धाउँदै आएको भए पनि निर्माण कार्य सुरु हुन सकेको छैन् । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले प्रदेश सरकारले खप्तड पर्यटकीय सडकको नाममा २०७६ सालमा बजेट विनियोजन गरी पूर्वाधार विकास कार्यालयमार्फत बोलपत्र आह्वान गरी निर्माण कार्य सुरु गरेको थियो । 

कार्यालयले बोलपत्रमार्फत दारुगाउँ लोखडा पर्यटकीय सडक निर्माणका लागि  एमपी कन्स्ट्रक्सनले ४६ लाख ३६ हजार २ सय १८ मा ट्रयाक खोल्न भन्दै २०७७ पुस २ गते सम्झौता गरेको थियो । सम्झौता गरेको केही समय निर्माण कम्पनीले काम  गरेको भए पनि बिचैमा काम छाडेर सम्पर्कविहीन भएपछि निर्माण कार्य अलपत्र परेको हो । 

उक्त निर्माण कम्पनीले काम गरेअनुसार ९ लाख ८४ हजार ८ सय ६९ रुपियाँ भुक्तानी समेत लिएको छ । यस सडकखण्डको काम २०७९ असार ३१ गते सम्पन्न गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ । अहिले यस सडकखण्डको काम अलपत्र अवस्थामा छ । 

स्थानीय नागरिक र स्थानीय सरकारले पटक–पटक ताकेता गरे पनि निर्माण कम्पनीको ठेकदार सम्पर्कमा नआएका कारण काम अलपत्र अवस्थामा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापाले बताउनुभयो ।  आफूहरूले समेत धेरै पटक ताकेता गर्दा पनि ठेकदार र पेटी ठेकदार सम्पर्कमा नआएका कारण समस्या भएको उहाँको भनाइ छ । 

उहाँले ठेक्काको योभन्दा अघि म्याद थप नभई बैङ्क ग्यारेन्टीको समेत म्याद सकिएकाले ठेकेदार कम्पनीलाई कारबाही गर्ने कुनै अधिकार नभएको समेत बताउनुभयो । तत्कालीन समयमा किन म्याद थप नगरी बैङ्क ग्यारेन्टी थप नगरेको भन्ने प्रश्नमा उहाँले आफू अहिले सरुवा भएर आएकाले त्यतिखेर कार्यालयको कमजोरीका कारण यस्तो भएको समेत बताउनुभयो । 

सडकको केही ट्याक खोलेर ठेकदार सम्पर्कविहीन बनेपछि वडा ३ का स्थानीयले काम गरेको पैसा नदिएको भन्दै ठेकेदारका प्रतिनिधि शेरबहादुर खड्काको ट्याक्टर समेत नियन्त्रणमा लिएर अहिले लम्तडामै कब्जा गरिराखेका छन् । सो ट्याक्टर समेत सडकमा अलपत्र छ । 

यस सडकखण्डमा काम गरेका यहाँका स्थानीय बासिन्दाले आफूहरूले गरेको श्रमको समेत पैसा नपाएको स्थानीय तथा समाजसेवी मेखराज रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्माण कम्पनीले काम अघि बढाउनुपर्छ कि ठेक्का रद्द गरेर स्थानीय सरकारले पनि काम गर्न सक्ने वातावरण पूर्वाधार विकास कार्यालयले वातावरण सिर्जना गरी दिनुपर्छ । यो सडक लोखडासम्म पुगाउन सक्यो भने खप्तड जान बढीमा २ घण्टा मात्र पैदल हिँड्दिनुपर्ने हुन्छ ।’

यसमा पूर्वाधार विकास कार्यालयको समेत संलग्नता रहेको स्थानीय बासिन्दा तथा जिल्ला समन्वय समितिका सदस्य टोपबहादुर खड्काको बुझाइ छ । उहाँका अनुसार पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता गर्दा र भुक्तानी गर्दा ठेकेदार कम्पनीबाट धरौटी राख्नु पर्ने, बैङ्किङ धरौटी भए नभएको जानकारी लिनुपर्ने हुन्छ । 

समयअघि जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी बिस्वमित्र कुइँकेल, डिएसपी भरतबहादुर शाह, स्थानीय जनप्रतिनिधि खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णुबहादुर थापा, जिल्ला समन्वय समिति सदस्य स्थानीय बासिन्दा टोपबहादुर खड्का, वडा अध्यक्ष गौरी बोगटी, पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापालगायतको टोलीले सडकको  स्थलगत अनुगमन गरेको छ ।