तिलाचन पाण्डे
तम्घास, मङ्सिर २८ गते । पछिल्लो समय गुल्मीमा चितुवा आतङ्क बढेको छ । रातको समयमा जङ्गलबाट चितुवा मानव बस्तीमा पस्दा स्थानीयमा त्रास पैदा भएको छत्रकोट ६ का लक्ष्मण ज्ञवालीले बताउनुभयो ।
गए राति ज्ञवालीको खोरमा रहेका चार वटा बाख्रा चितुवाले खाएको उहाँले बताउनुभयो । राति करिब १ बजेतिर बाख्रा कराएको र डरले बाहिर निस्कन नसकेको ज्ञवालीले बताउनुभयो । राति बाहिर निस्कँदा आफ्नो ज्यान जोखिममा रहने भएकाले बाहिर ननिस्केको उहाँको भनाइ छ ।
एउटा बाख्रा खोरनजिकै मरेको अवस्थामा फेलापरेको छ । तीन वटा बाख्रा फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।