रमेश विश्वकर्मा
गुल्मी, मङ्सिर २८ गते । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको एक औपचारिक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख पन्थीले घरदैलो अगाडि सञ्चालमा आएको स्वास्थ्य केन्द्रबाट सेवा र सल्लाह लिई लाभान्वित हुन स्थानीयहरुलाई आग्रह गर्नुभयो । स्वास्थ्यको क्षेत्रमा आफू सबैभन्दा बढी केन्द्रित रहेको भन्दै उहाँले अहिले जिल्ला तहबाटै विशेषज्ञसहितको सेवा दिन सकिएको बताउनुभयो । समुन्नतिको पहिलो आधार नै स्वास्थ्य भएकाले स्वस्थ नागरिक तयारका लागि स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
त्यस वडाका वडाध्यक्ष लीलाधर आचार्यले आफू निर्वाचित भएपछि विपन्न नागरिकहरुको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो । वडामा रहेका विपन्न तथा सुकुम्वासी परिवारका सदस्यहरुलाई ध्यानमा राखेर एक लाख रुपियाँ बराबरको स्वास्थ्य उपचारको सुविधाका लागि वडाबाट बजेट नै विनियोजन गरी उनीहरुको स्वास्थ्य बिमा गरिदिएको उहाँले बताउनुभयो ।
सो भवन पुष्पाञ्जली निर्माण कम्पनीले एक करोड ६० लाख रुपियाँमा निर्माण कार्य सम्पन्न गरेको हो । यहाँबाट रेसुङ्गा नगरपालिका वडा नम्बर चारसँगै रेसुङ्गा नगरपालिका–५ र छिमेकी इस्मा गाउँपालिकाका नागरिकहरु लाभान्वित हुने बताइएको छ ।