• २३ असार २०८१, आइतबार

मुख्यमन्त्रीको गाडी ताेडफोड गर्ने चौधरीलाई पाँच दिन म्याद थप

blog

पक्राउ परेका नेपाल आदिवासी जनजाति महासङ्घ झापाका अध्यक्ष पाण्डवलाल चौधरी । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर २८ गते ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड तथा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका नेपाल आदिवासी जनजाति महासङ्घ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई म्याद थप गरेर घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

मङ्गलबार साँझ प्रहरीले पक्राउ गरेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्गलबार पक्राउ परेका चौधरीलाई बुधबार अभद्र व्यवहारसम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समिति झापाको अगुवाइमा कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै पहिचानवादी बताउनेहरुले मुख्यमन्त्री कार्कीलाई कालोझण्डा देखाउने र गाडीमा तोडफोड गर्ने कार्य गरेको बताइन्छ । चौधरी उक्त समितिका संयोजक रहनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राउ परेका चौधरीलाई मङ्गलबार बेलुका घरबाट नै पक्राउ गरिएको हो । मङ्गलबार दिउँसो दमकमा आउने क्रममा मुख्यमन्त्रीको गाडी छेक्ने कार्यमा संलग्न रहेको फोटो र भिडियो प्रमाणको आधारमा पक्राउ गरिएको पनि प्रहरीको भनाइ छ ।

कालो झण्डा देखाउने, सवारी रोक्न खोज्ने र तोडफोडमा संलग्न अन्यको समेत खोजी कार्य तीव्र बनाइएको प्रहरीले बताएको छ । उक्त घटनामा आधा दर्जनभन्दा बढीको प्रत्यक्ष संलग्नता रहेको प्रहरी स्रोतको भनाइ छ । लागूऔषध नियन्त्रणसम्बन्धी एक कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री कार्की दमक आउनुभएको थियो ।