• २७ वैशाख २०८२, शनिबार

बकैया गाउँपालिकामा ई–हाजिरी लागू

blog

ई–हाजिरी गर्नुहुँदै बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ । तस्बिर :अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, मङ्सिर २८ गते ।
मकवानपुरको बकैया गाउँपालिकाले डिजिटल हाजिरी सुरु गरेको छ । गाउँपालिकाले ढड्डा हाजिरी रजिस्टर हटाएर ई–हाजिरीमा ल्याप्चे लगाउन सुरु गरेको हो ।

पालिका मातहतका सबै कर्मचारीले अब ई–हाजिरी गर्छन् । ई–हाजिरीमा कर्मचारी कतिबेला उपस्थित भए, कति बेला बिदा भए सबै देख्न सकिने बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले बताउनुभयो ।

‘‘पालिकाभित्र सुशासन र पारदर्शिता कायम गर्न पालिकाको कार्यालय, १२ वटै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका सबै कर्मचारीको लागि ई–हाजिरीको व्यवस्था गरेका छौं,’’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो । उहाँले कर्मचारीको अनुपस्थितिका कारणले सेवाग्राहीको काममा कुनै पनि समस्या नदेखियोस् र कर्मचारीहरु कार्यालय समयभित्र कतै जान नसकुन् भनेर यो प्रविधि लागू गरिएको जानकारी दिनुभयो ।

कर्मचारीले बिदा लिनका लागि छुट्टै निवेदन लेखेर कार्यालय प्रमुखसँग पुग्नुपर्ने बाध्यता पनि हटेको छ । सबै कर्मचारीका लागि छुट्टाछुट्टै पासवर्ड व्यस्था गरिएको र त्यहीँबाट आफ्नो बिदाको निवेदन पठाउन सकिने प्रणालीको व्यवस्था मिलाइएको पालिका सूचना अधिकारी सन्तोष पाण्डेले जानकारी दिनुभयो । आएको निवेदनको आधारमा बिदा स्वीकृत वा अस्वीकृत भएको सबै यही प्रविधिबाटै गर्न सकिने उहाँको भनाइ छ । सबै वडा कार्यालयका कर्मचारी र स्वास्थ्य संस्थाका कर्मचारी सबै कति जना उपस्थिति भए कति भएनन् । समयमा आए आएनन् सबै गाउँपालिकामै बसेर हेर्न सकिने पाण्डेले जानकारी दिनुभयो ।

कर्मचारी फिल्डमा जाँदा पालिका वा सम्बन्धित वडालाई जानकारी गराएर म्यानुअल हाजिरी गर्न सकिने व्यवस्था पनि गरिएको छ । पुरानो ढड्डा शैलीलाई फेर्दै पालिकाले आधुनिक प्रणाली अपनाएको प्रति कर्मचारीहरु पनि सहज भएको बताउँछन् । १२ वटा वडा रहेको बकैयामा करिब डेढ सय कर्मचारी कार्यरत छन् ।