लीलाधर वली
घोराही, मङ्सिर २८ गते । घोराही उपमहानगरपालिका–१३ उपल्लो लापेका दानबहादुर राङु मगरले आठ कट्ठा जमिनमा व्यावसायिक गोलभेँडा खेती गर्दै आउनुभएको छ । मकै, गहुँ, आलुलगायत खेती गर्दा जङ्गली जनावरले समस्या पारेपछि अन्नबाली छाडेर तरकारी खेतीमा लागेका दानबहादुरले भन्नुभयो, “उत्पादन राम्रै हुन्छ तर आम्दानी लिने आधाको मात्रै हो, आधा त बाँदरले सकिदिन्छ, बाँदरलाई अधियाँ दिए जस्तै हुन्छ ।”
पहिलेदेखि नै बाँदर र रतुवाले धेरै सताउने गरेर बाली नै बदले पनि यो सास्तीबाट मुक्ति नपाएको दानबहादुरले बताउनुभयो । जङ्गली जनावरबाट टमाटर खेती जोगाउन समस्या बढेको अनुभव सुनाउँदै दानबहादुरले भन्नुभयो, “रातको समयमा रतुवा र दिउँसोमा बाँदर बारीमा पसेर खाने र नोक्सान गर्ने गर्छन्, तिनलाई नजिक पर्न नदिने केही उपाय भए त हाम्रा लागि राम्रै हुन्थ्यो ।”
बाली जोगाउन रातभर नसुत्ने गरे पनि कतिबेला सिध्याउने हुन् भनेर पत्तै हुँदैन । बगाले बाँदरको ठुलो हुल बारीमा पसेपछि ठुलो क्षति गर्ने गर्छ । बाँदरलाई भगाउने उपाय खोजी दिनसमेत स्थानीय सरकारसँग दानबहादुरले माग गर्नुभयो ।
दानबहादुरको जस्तै गुनासो छ, उपल्लो लापेकै कृष्ण शाहीको पनि । १४ कट्ठा बढी जमिनमा टमाटर खेती गर्नुभएका कृष्णलाई पनि खेती जोगाउन समस्या छ । मकै, गहुँ, आलुलगायत बाली बँदेल, बाँदरले क्षति गरेर भित्र्याउनै नदिन थालेपछि ती बाली छोडेर टमाटर खेतीमा लागे पनि छुटकारा पाउन नसकेको उहाँको दुःखेसो छ । उहाँले भन्नुभयो, “मकै, गहुँ, आलु खेती गर्दा बँदेल र बाँदरले बाली भित्र्याउन नदिएपछि गोलभेँडा त खाँदैन होला भनेर खेती गरेका थियाैँ तर अहिले यो पनि बचाउन धौ धौ भएको छ ।”
जङ्गलमा बाँदरको सङ्ख्या बढेको र फलफूलका बिरुवा नहुँदा किसानले गरेको खेतीमा पस्ने गरेको बताइन्छ । पछिल्लो समय जङ्गली चिउरी फुलेका कारण केही राहत मिलेको उहाँले बताउनुभयो ।