• १६ असार २०८१, आइतबार

समृद्ध मुलुक बनाउन एमालेकै सरकार चाहिन्छ : अध्यक्ष ओली

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओली । तस्विर : गोकुल भुजेल

गोकुल भुेजल

भोजपुर, मंसिर २७ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माण गर्न एमाले नेतृत्वकै सरकार अपरिहार्य भएको बताउनुभएको छ । 

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत बुधबार भोजपुर सदरमुकाममा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले पार्टीद्वारा आयोजित कार्यक्रममा गठबन्धन सरकारले आम जनतालाई दुःख र आर्थिक भार मात्र दिएको आरोप लगाउनुभयो । 

अध्यक्ष ओलीले देशमा हाल राजनीतिक, सामाजिक, आर्थिक तथा जुनसुकै क्षेत्रमा अस्थिरता बढेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “एमालेसँग एक्लै लड्ने गठबन्धनका कुनै पनि पार्टीको आँट छैन, यो संकल्प यात्रासगैँ मिसन ८४ मा लाग्न म नेता कार्यकर्ताहरुलाई आव्हान गर्छु ।”

जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपुर्ण र भोजपुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसअघि सरकार निर्माणको क्रममा गठबन्धनले जालझेल गरेर अदालतको सहारामा सरकार ढालेको टिप्पणी गर्नुभयो । २०८४ निर्वाचनपछि एमालेको एकल सरकार निर्माण गर्नमा जनताले साथ दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

अध्यक्ष ओलीलाई एमाले जिल्ला अध्यक्ष शरणकुमार राईले जिल्लाको विकासका लागि गुरुयोजनाको प्रस्ताव हस्तान्तरण गर्दै बजेट ब्यवस्थापमा सहयोग गर्न आग्रह गर्नुभयो । 


संकल्प यात्राको अभियान अन्तर्गत भोलि २८ गते अध्यक्ष ओली नेतृत्वको टिमले जिल्ला सदरमुकामको सहिदपार्कमा सहिदको शालिकमा माल्यार्पण, बहुस्तरीय रंगशाला उद्घाटन, टक्सारबजार अवलोकन गरी तिवारी भञ्जयाङमा अन्तरक्रियापश्चात धनकुटा हुदै तेहथुम प्रस्थान गर्ने योजना रहेको एमाले भोजपुरले जनाएको छ ।

अभियानमा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टीका उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहितका नेता कार्यकर्ता समृद्धिको लागि संकल्प यात्रामा सहभागी हुनुहुन्छ । मंसीर १४ गतेबाट सुरु भएको संकल्प यात्रा आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको सो दलले जनाएको छ ।