• ७ जेठ २०८१, सोमबार

भारतीय संसदमा धुवाँ आक्रमण, चारजना पक्राउ

blog

संसदमा देखिएको धुवाँ । तस्बिर : टाइम्स अफ इन्डिया

नयाँदिल्ली, मङ्सिर २७ गते । 

भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुराएका थिए ।  

सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेको थियो । साथै अन्य दुई व्यक्तिलाई भवनबाहिर हिरासतमा लिइएको थियो । तीमध्ये एकजना ओभरहेड दर्शक दीर्घाबाट संसदको तल्लो सदनको भुइँमा फाल हानेका थिए । 

अधिवेशनको आधिकारिक फुटेजमा एउटा उपकरण बन्द गर्नुअघि एक व्यक्तिलाई नाराबाजी गर्दै र स्तब्ध सांसदहरूको बीचको टेबलमा चढ्दै गरेको देखाइएको थियो । उपकरण बन्द भएका कारण चेम्बरमा पहेँलो धुवाँ फैलिएको थियो । 

उक्त जोडीको मनसाय र उनीहरू सुरक्षा जाँचबाट कसरी बच्न सफल भए भन्नेबारे स्पष्ट भएको छैन र नयाँदिल्ली प्रहरीले अझैसम्म उक्त घटनाबारे कुनै विवरण जारी गरेको छैन । 

केही समयको स्थगनपछि संसद् पुनः सुरु भयो । सभामुख ओम बिरलाले संसद अवरुद्ध गर्ने चार जनालाई पक्राउ गरिएको सांसदहरूलाई जानकारी गराउनुभयो । 

“दुवै व्यक्तिलाई पक्राउ गरिएको छ र बाहिरका दुई जनालाई पनि पक्राउ गरिएको छ”, उहाँले भन्नुभयो, “संसद्ले गहन अनुसन्धान गरिरहेको छ र दिल्ली प्रहरीलाई पनि आवश्यक निर्देशन दिइएको छ ।”

चिन्ता लिनुपर्ने केही छैन भन्दै उहाँले धुवाँ मानव स्वास्थ्यका लागि हानिकारक नभएको सांसदहरूलाई आश्वासन दिनुभयो । 

सांसद हनुमान बेनिवालले यसै वर्षको सुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुभएको भारतको नयाँ संसद्को सुरक्षामाथि यसले ‘धेरै गम्भीर प्रश्न’ उठाएको बताउनुभयो । घटनाको समयमा सदनमा करिब एक सय ५० सांसद थिए भन्दै उहाँले सांसदहरूले घटनाको गहन अनुसन्धानको माग गरेको बताउनुभयो । 

नयाँदिल्लीस्थित संसद्को अघिल्लो भवनमा भएको हमलाको २२औँ वार्षिक दिवसमा यस्तो अवरोध भएको हो । 

उक्त हमलामा पाँच बन्दुकधारीले कम्तीमा आठ सुरक्षाकर्मी र एक मालीलाई गोली हानी मारेका थिए । उक्त हमला पनि संसदीय अधिवेशनका बेला भएको थियो । 

प्रधानमन्त्री मोदीले यसअघि बुधबार उक्त हमलाका पीडितहरूलाई श्रद्धाञ्जलि दिनुभएको थियो । उहाँले भन्नुभयो, “खतरासामु उनीहरूको साहस र बलिदान हाम्रो देशको स्मृतिमा सदाका लागि कोरिने छ ।” रासस, एएफपी