• १५ मंसिर २०८१, शनिबार

घाँस बिक्री हुन छाडेपछि घँसियारा सङ्कटमा

blog

ग्राहकको प्रतीक्षामा नेपालगन्जका घाँसमण्डीमा घसियाराहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर २७ गते । नेपालगन्ज उपमहानगरपालिका–८ घँसियारन टोलकी छोटाना केवट बिहान–बेलुका घाँस ल्याएर बिक्रीका लागि बस्नुहुन्छ । तर घाँस खरिद गर्नेहरू नआउँदा त्यसै फर्किनु पर्छ । 

घाँस बेचेर जीवन चलाउन आजभोलि कठिन हुन थालेको छोटानाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले–पहिले बढीजसो घाँस टाङ्गाचालकले घोडाका लागि भनेर किन्थे, तर अहिले त्यतिखेरको जस्तो टाँगा चल्दैनन् । घाँस हुने ठाउँमा घरहरू बनेका छन् । भनेजस्तो घाँस पाइन छोड्यो, आजभोलि गुजारा चलाउन मुस्किल छ ।’

केही वर्ष पहिलेसम्म घाँसका लागि मानिसको तँछाडमछाड हुनेगरेको स्मरण गर्दै छोटानाले अहिले त दिनभरि ग्राहक कुरेर बित्नेगरेको बताउनुभयो । सोही वडाकी रुपरानी केवटको दैनिकी पनि छोटानाकैजस्तो छ । घाँस खोज्दै र ल्याएको घाँस विक्रीका लागि समय पर्खिँदै दिन बित्नेगरेको छ । घाँस खोज्नकै लागि उहाँ नेपालगन्जका विभिन्न टोलटोलमा भौँतारिने गर्नुहुन्छ । 

साह्रै मिहिनेत गरेर अरूको घरआँगन र सार्वजनिकस्थलबाट काटेर ल्याएको घाँस पनि सोचेजस्तो गरेर बिक्री नहुँदा रुपरानीको परिवारलाई दुई छाक टार्न नै धौ–धौ हुन थालेको छ । बाह्रै महिना घाँस काटेर बिक्री गर्नु आफ्नो नियति बनेको जनाउँदै उहाँले भन्नुभयो, ‘१२ जनाको परिवार छ । छोराले मोटरसाइकल धुने काम गर्छ । छोरीले अरूको घरमा गएर घरेलु काम गर्छे । खोजेर जम्मा गरेको घाँस ५० देखि १०० रुपियाँमा पनि बिक्दैन । गुजारा चलाउनै गाह्रो भयो ।’

सोहीप्रकारको समस्या अधिकांश घँसियाराको छ । घाँस बेचेर जीवन चलाउन उनीहरूलाई आजभोलि कठिन हुन थालेको छ । घाँसको बिक्री घट्न थालेपछि सो समुदायका महिला अहिले अरूका घरमा भाँडा माझ्ने, दुना टपरी बनाउने र सरसफाइको काम गर्न थालेको सोही वडाकी सोमती केवटले बताउनुभयो । उहाँले घाँस काटेर जीवन निर्वाह गर्न समुदायका लागि पछिल्लो समय कठिन बन्दैगएको बताउनुभयो । 

छोटना, रुपरानी र सोमतीजस्तै नेपालगन्ज –८ र १३ मा उहाँजस्ता धेरै घसियारा समुदायका मानिस बस्दैआएका छन् । उहाँहरूको पुर्खौली पेसा भनेको घाँस काटेर बेच्ने हो । पछिल्लो समय मानिसले पशु पाल्न छाडेकाले घाँसको खपत र माग घट्दै जाँदा गुजारा गर्न उहाँलाई समस्या हुन थालेको छ । 

सोहीकारण जीवनयापनका लागि वैकल्पिक रोजगारीको व्यवस्था मिलाउन स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने माग अधिकांश घसियाराको छ । नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले सो समुदायका लागि सार्वजनिक शौचालय र स्नान घर बनाइसकेको जनाउँदै घाँसमण्डी रहेको आधा जमिनमा उहाँहरूका लागि सांस्कृतिक कार्य विवाह मण्डप, पूजा गर्न सामूहिक सभा हल बनाउनेलगायतका योजनाअघि सारेको जानकारी दिनुभयो ।

नेपालगन्जको वडा–८ मा २६ र वडा १३ मा ३९ परिवार गरी करिब ६५ परिवार घसियारा समुदायको बसोबास छ । यो समुदाय विपन्न तथा लोपोन्मुख समुदायमा पर्दछ ।