सिराज खान
नेपालगन्ज, मङ्सिर २७ गते । नेपालगन्जका क्यासिनोहरुमा प्रहरीले छड्के चेक जाँच गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले यहाँ सञ्चालित सात वटा क्यासिनोमा छड्के चेकजाँच गरेर नेपालीहरू भएनभएको बारे अनुसन्धान गरिएको हो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले नेपालीहरू प्रवेश गरी क्यासिनो खेल्ने गरेको सूचना पाएर गरिएको छड्के चेकजाँचका क्रममा नेपाली फेला नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, "क्यासिनोमा भारतीयलाई मात्र प्रवेश गर्न पाइने नियम छ । तर नेपालीहरू पनि क्यासिनो खेल्न गएको सूचनाको आधारमा छड्के चेकजाँच गर्यौँ, तर नेपाली फेला परेनन् ।"
बाँकेका प्रहरी प्रमुख एसपी सुभाष चन्द बोहराको निर्देशनमा क्यासिनोको छड्के चेकजाँच गरिएको वडा प्रहरी प्रमुख बिसिले बताउनुभयो । उहाँले वडा प्रहरी कार्यालयले समय समयमा निगरानी गरिरहेकै हुँदा पनि छड्के चेकजाँच गर्न जिल्ला प्रहरी प्रमुखको निर्देशन पालना गरेर फेरी पनि चेकजाँच गरिएको बताउनुभयो ।
नेपालगन्जमा सात वटा क्यासिनो सञ्चालनमा छन् । नेपालगन्जमा क्यासिनो खेल्न सीमापारिका विभिन्न जिल्लाहरूबाट भारतीय नागरिक आउने गर्छन् । ती क्यासिनोमा भारी रकमको जुवा खेलिन्छ ।
क्यासिनोमा नेपालीहरूलाई खेल्न दिने गरिएको गुनासाहरू पटकपटक उठ्ने गरेका छन् । सोही गुनासाहरूको सम्बोधनका लागि छड्के चेकजाँच गरिएको प्रहरीले जनाएको छ । क्यासिनोमा अवैध घुसपैठ रोक्न छड्के चेकजाँचलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेपालगन्जमा भारतीय पर्यटक आकर्षित गर्न सहरलाई क्यासिनो सिटिका रूपमा स्थापित गर्ने योजना अनुसार नै यहाँ सात वटा क्यासिनो हाल सञ्चालनमा छन् भने केही अझै सञ्चालनको तयारीमा छन् ।