• १२ मंसिर २०८१, बुधबार

स्क्वासको सेमिफाइनल समीकरण पूरा

blog

काठमाडौँ, मङ्सिर २७ गते । उमित शाक्य बुधबार छविलाल पाइजा पुनलाई ११–७, ११–५, ११–५ ले हराएर एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा स्थान बनाउनुभएको छ । यस नतिजासँगै पुरुष एकलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

एक दिनअघि नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंह, अमिर ब्लोन र दीपक थापाले पनि अन्तिम चारमा स्थान बनाइसक्नुभएको थियो । सेमिफाइनलमा उमितले अरहन्त र अमिरले दिपकसँग खेल्नुहुनेछ ।

यसैगरी महिला एकलमा गत एसियाडमा खेल्ने दुई खेलाडी विपना ब्लोन र स्वस्थानी श्रेष्ठसँगै धकमाया पाइजा पुन विजयी हुनुभयो । बिपनाले साक्षी कुँवरलाई ११–३, ११–३, ११–७, स्वस्थानीले अस्मिता नगरकोटीलाई ११–५, ११–८ र ११–८ तथा धकमायाले युनी ताम्राकारलाई ११–७, ११–४ र ११–३ ले पराजित गर्नुभयो ।

ब्वाइज यु१९ मा विकास तुम्सिङ मगरले हेलिस घिसिङलाई ११–१, ११–२, ११–४, रोहन परियारले सञ्जय श्रेष्ठलाई ११–६, ११–३, ११–६ र राकेश परियारले किशोर श्रेष्ठलाई पाँच सेटमा ८–११, ११–३, ११–१, ५–११ र ११–४ ले निराश बनाउनुभयो ।

गल्र्स यु१९ मा रचना प्रजाले दोहोरा जित हात पार्नुभयो । रचनाले युनीलाई ११–५, ११–६ र आग्या सुनुवारलाई ७–११, १२–१० र ११–६ ले पराजित गर्नुभयो । अन्य खेलमा साक्षीले मिलियाना कुँवरलाई ११–१, ११–० र अर्पणा प्रजाले नियुक्ति श्रेष्ठलाई ११–५, ११–१ ले हराउनुभयो ।

नेपाल स्क्वास र्‍याकेट सङ्घ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास भएको हो । एक्स स्टेपको प्रायोजन रहेको यो प्रतियोगिता मङ्सिर २९ गतेसम्म चल्नेछ । प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यु१९, गल्र्स यु१९, मास्टर्स ५० प्लस र प्लेट गरी छ विधामा खेल भइरहेको छ ।