सिराज खान
नेपालगन्ज, मङ्सिर २७ गते। बाँके जिल्लाका भूमिहीन र सुकुम्वासीलाई जग्गाको लालपुर्जा वितरण गर्नका लागि अहिले विभिन्न पालिकामा निस्सा वितरण कार्य सुरु गरिएको छ। सो क्रममा जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ६ मा ३५० जना भूमिहीन र सुकुम्वासीलाई जग्गाको निस्सा वितरण गरिएको हो। निस्सा पाएपछि लालपुर्जा पाउने बाटो खुल्ने गरेको छ।
राष्ट्रिय भूमि आयोग बाँकेको अगुवाइमा जानकी गाउँपालिका वडा नम्बर ६ का ३५० जना दलित भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई एक कार्यक्रमको आयोजना गरेर निस्सा वितरण गरिएको हो।
बाँकेको जानकी गाउँपालिकामा ६ बाट जानकीमा पहिलोपटक भूमिसम्बन्धी कार्यको सुरुवात गरिएको राष्ट्रिय भूमि आयोग बाँकेका अध्यक्ष श्रवणकुमार यादवले बताउनुभयो। अध्यक्ष यादवका अनुसार जानकीका पुरै वडामा यथाशीघ्र कामको सुरुवात गरेर लालपुर्जा दिइनेछ।
राष्ट्रिय भूमि आयोग बाँकेका विज्ञ सदस्य अशोक पोख्रेलले केही कर्मचारी र प्राविधिकको अभावका बिचबाट पनि आयोगले आफ्नो कामलाई अगाडि बढाउँदै लगेको बताउनुभयो। उहाँले भूमिहीन दलित सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिएर उनीहरूलाई आफ्नो जग्गाको मालिक बनाउने सरकारको अभियानलाई सबैले साथ दिनुपर्ने पनि बताउनुभयो।
जानकी गाउँपालिकामा पहिलो पटक सुरु गरिएको निस्सा वितरण कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्वन खाँ, वडा नम्बर ६ का वडाध्यक्ष जगदीश हरिजन, राष्ट्रिय भूमि आयोग बाँकेका सदस्य मिना सिग्देल, भगवती अधिकारी लगायतको उपस्थिति रहेको थियो।