• १६ असार २०८१, आइतबार

मेचीनगरमा ई-रिक्सालाई ‘रुट परमिट’

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २७ गते। झापाको मेचीनगर नगरपालिकाले तीन पाङग्रे (ई-रिक्सा) दर्ता सहित ‘रुट परमिट’ जारी गर्ने भएको छ।  मेचीनगर नगरपालिकाको ई–रिक्सा व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम नगर क्षेत्रभित्र रुट र सङ्ख्या तोकेर ई–रिक्सा दर्ता गर्ने भएको हो। 

नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरे अनुसार काकरभिट्टा स्टेसन भएर मेचीनगर नगरपालिका क्षेत्रभर चल्ने गरी ५ सय वटा, इँटाभट्टा चौक स्टेसन भएर मेचीनगर नगरपालिका क्षेत्र भरी चल्ने गरी १ सय वटा, धुलाबारी चौक स्टेसन भएर मेचीनगर नगरपालिका क्षेत्र भरी चल्ने गरी २ सयवटा ई-रिक्सा दर्ता हुने भएका छन्। 

चारआली चौक स्टेसन भई मेचीनगर नगरपालिका क्षेत्र भरी चल्ने गरी १ सयवटा तोकिएको छ।  अधिकतम् ५ सय सहित न्यूनतम ५ वटासम्म विभिन्न चोक तथा सडकहरू तोकेर रुटपरमिट दिने भएको हो।  जहाँ तोकिएर दर्ता भए पनि नगरपालिकाभित्र ओहोरदोहोर गर्न रोक नलाग्ने बताइएको छ। 

नगर प्रमुख  गोपालचन्द्र बुढाथोकीका अनुसार ई–रिक्साका कारण दुर्घटनाको जोखिम नहोस् र सबैतिर सहज रूपमा सञ्चालनहोस् भनेर रुटपरमिट दिँदा सकेसम्म सबै चोक तथा बजार क्षेत्रलाई लक्षित गरेर दर्ता गरिन लागेको हो।  दर्ता भएका ई–रिक्सा जहाँ दर्ता भएका हुन् त्यसलाई केन्द्र बनाएर सञ्चालन हुनुपर्नेछ। 

मेचीनगर नगरपालिकाको सडक क्षेत्रमा सञ्चालित तीन पाङ्ग्रे ई–रिक्सा लगायतका साना यातायात/सवारी साधनको सञ्चालन अनुमति, रुट निर्धारण, भाडादर निर्धारण, सुरक्षित तथा गुणस्तरीय सेवा प्रवाह, पार्किङ लगायतका कार्य व्यवस्थित तथा नियमन गर्न दुई वर्ष अघि नै कार्यविधि बनाएको थियो।