भावना जोशी
अत्तरिया, मंसिर २७ गते । सहकारी संस्थालाई सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले सुदूरपश्चिम प्रदेशलाई चिनाउन नवजीवन सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
नवजीवन सहकारीजस्ता धेरै संस्था भएमा सरकार समेत बलियो हुने उहाँले बताउनुभयो । नवजीवन सहकारी संस्थाको धनगढीमा आयोजित ३० औ वार्षिक साधारण सभामा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
साथै, उहाँले केही सहकारीले सेयर सदस्यको पैसा दुरुपयोग गरेका कारण सहकारीप्रति जनताको हेर्ने दृष्टिकोण परिवर्तन भएको बताउनुभयो । अहिलेको समय सहकारीबाट कोही अलग रहन सक्दैन, सबै सहकारीमा जोडिएका छन् । अव आर्थिक अवस्था कमजोर भएकालाई कार्यक्रम ल्याएर स्वरोजगार बनाउनेतर्फ लाग्न सुझाव दिनुभयो ।
यस्तै, कार्यक्रममा प्रदेशसभा सदस्य धर्मराज पाठकले सहकारी भनेको राज्यको पिल्लर हो, यसको दायरा सरकारले बढाउनुपर्ने बताउनुभयो । यस क्षेत्रमा देखिएका समस्यालाई सरकारले समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।
संस्थाका अध्यक्ष देवबहादुर वमले नवजीवन सहकारीको ब्राण्डमा छिटै बजारमा चामल आउने र त्यसका लागि ४ हजार ८ सय क्विन्टल धान खरिद गरिसकेको बताउनुभयो । माघ महिनामा नवजीवनको दुई वटा डडेलधुरा र काठमाडौँमा शाखा खोल्न अनुमति पाइसकेको बताउनुभयो ।
२०५० सालमा स्थापना भएको सहकारी संस्थामा हाल ३२ हजार ७ सय ५४ जना शेयर सदस्य छन् । संस्थाले सेयर सदस्य सुत्केरी हुँदा १० हजार, मृत्यु संस्कारमा २० हजार र कुनै ठुलो अङ्ग प्रत्यारोपण गर्नु परेमा एक लाख सहयोग गर्दैआएको छ ।
आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनमा २०८० असार मसान्तसम्म जगेडा तथा कोषमा ५५ करोड ५४ लाख रुपियाँ पुगेको जनाइएको छ । २०७९ असारसम्म सो कोषमा ५० करोड ८८ लाख रकम रहेको थियो । आर्थिक मन्दीका बाबजुद पनि संस्थाको बचत सङ्कलनमा असर परेको देखिँदैन ।
गत वर्षको निक्षेप चार अर्ब नौ करोड १३ लाख ३० हजार रहेकोमा वृद्धि भई २०८० असार मसान्तसम्म चार अर्ब ४१ करोड ४५ लाख ४१ हजार निक्षेप सङ्कलन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
२०८० असार मसान्तसम्म संस्थाको नगद र बैङ्क मौज्दात एक अर्ब १९ करोड ३५ लाख ४३ हजार रहेको छ । कार्यक्रममा पूर्व सांसद एवम् नवजीवनका सल्लाहकार महेश्वर पाठक, धनगढी उपमहानगरकी उपमेयर कन्दलाकुमारी राना, पुनर्वास नगरपालिकाका मेयरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।