• १४ मंसिर २०८१, शुक्रबार

सङ्कल्प यात्रा टोली बिहीबार धनकुटा आइपुग्ने

blog

पत्रकार सम्मेलनमा सङ्कल्प यात्राबारे जानकारी गराइँदै । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, मंसिर २७ गते । नेकपा (एमाले) को ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ टोली बिहीबार धनकुटा आइपुग्ने सो पार्टीले जनाएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट राष्ट्रिय झण्डा फहराएर सुरु गरिएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित सङ्कल्प यात्रा १५ औँ दिनमा धनकुटा आइपुग्न लागेको एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले पत्रकार सम्मेलन गरी जनाएको छ । 

सङ्कल्प यात्राको टोलीलाई बिहान लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रवेश गराइने एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीको भनाइ छ । उहाँका अनुसार ‘२८ गते बिहान ९ बजेतिर टोली लेगुवा आइपुग्छ, टोलीमा सहभागी सबैलाई फूलमाला लगाएर हामीले जिल्लामा स्वागत गर्छौँ’ अध्यक्ष पराजुलीले भन्नुभयो, ‘लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा कार्यक्रम राखिएका छन्, त्यहाँका कार्यक्रममा सहभागी हुँदै टोली वसन्तपुर पुगेपछि त्यहाँ वृहत् आमसभा गर्ने तयारी गरेका छौँ ।’

एमाले अध्यक्ष ओलीले १८ दिनसम्म सञ्चालन हुने सङ्कल्प यात्राको अगुवाइ गरिरहने भएको छ । पाँचसय नेता कार्यकर्ता सहभागी भएको सो यात्रामा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायत हुनुहुन्छ । 

लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकसँग भेटघाट, पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया, हिलेमा पार्क उद्घाटन लगायतका कार्यक्रम तय गरिएको सम्मेलनमा जानकारी गराइएको छ ।

धनकुटा नगरपालिकाका नगर प्रमुख तथा एमाले जिल्ला उपाध्यक्ष चिन्तन तामाङले धनकुटा नगरको कार्यप्रगति र भावी योजनाको विषयमा अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको छ । सिधुवा पुगेर अध्यक्ष ओलीसहितको टोलीले त्यहाँका कृषकसहित कृषि क्षेत्रसम्बद्ध सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ । 

सिधुवाको कार्यक्रम पश्चात् वसन्तपुरमा दिउँसो आमसभा गर्न लागिएको जनाइएको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख नैन विश्वकर्माका अनुसार धनकुटा, तेह्रथुम र सङ्खुवासभाको तर्फबाट संयुक्त रूपमा गर्न लागिएको आमसभामा १५ हजारभन्दा बढी मानिस सहभागी हुनेछन् । आमसभामा धनकुटाबाट पाँच हजारभन्दा बढी मानिस जाने तयारी छ । पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सङ्कल्प यात्रा समापन हुने एमालेले जनाएको छ ।