रेखीराम राना
तानसेन, मङ्सिर २७ गते । तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पस नेपाली विभागद्वारा प्रकाशित 'प्रज्ञान' को लोकार्पण गरिएको छ । त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले ‘प्रज्ञान’को लोकार्पण गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि उहाँले नेपाली भाषाप्रति भएको अनावश्यक हस्तक्षेप रोक्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपाली भाषा र अङ्ग्रेजी भाषा बिचमा तुलना गर्न नसकिने भन्दै नेपाली भाषा सपना देख्ने भाषा भएको बत्ताउनुभयो । नेपाली भाषालाई ध्वस्त बनाउने केही तत्त्व लागेपनि त्यो सफल नहुने विचार उहाँले राख्नुभयो । नेपाल सरकारको प्रत्येक कार्यालयमा अधिकृत स्तरको नेपाली विज्ञ राख्नुपर्ने माग र अडान आफ्नो रहेको उहाँको भनाइ छ ।
विशिष्ट अतिथि पूर्व क्याम्पस प्रमुख चोलेश्वर शर्माले नेपाली विभागले प्रज्ञान पत्रिकालाई निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । लेखक तथा इतिहासकार निर्मल श्रेष्ठले प्रज्ञान पत्रिकालाई निरन्तरता दिनका लागि गरिएको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएका डा. पीतबहादुर नेपाली, अवकाश हुनुभएका पूर्व प्राध्यापक युवराज पौड्याल, कर्मचारीहरू तारा अधिकारी, सर्वनाथ नेपाल र टेकबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।