• १६ असार २०८१, आइतबार

दमकमा लागु औषध नियन्त्रण र सचेतना अभियान

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २७ गते । झापाको दमक नगरपालिकाले ‘लागु औषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान’ सुरु गरेको छ । मघ्गलवारदेखि सुरु भएको अभियान विशेष कार्यक्रमको रुपमा निरन्तर चल्ने भएको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अभियानको औपचारिक उद्घाटन गर्नुभएको हो । अहिलेसम्म लागुऔषध प्रयोगकर्तालाई हेलाको दृष्टिकोणले हेरिएको र उनीहरु लागुऔषध प्रयोगको लतमा फस्नुकाे कारण खोजी नहुने गरेकाले आफूहरुको ध्यान अब त्यसतर्फ जाने दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभयो । यससम्बन्धी कार्यविधि बनाएर नै आफूहरु अघि बढेको उहाँको भनाइ छ ।

"लागुऔषध प्रयोग नियण्त्रण तथा रोकथामको विषयमा मात्र चर्चा भएको पाइयो यसले मात्र समस्या समाधान हुँदैन भन्ने देखियो", उहाँले भन्नुभयो । विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु गर्ने र लागुऔषधको प्रयोगमा फसेकाहरुलाई पुनःस्थापनामा जोड दिइने थापाले जनाउनुभएको छ । जानअन्जान तथा साथीभाइको लैलैमा लागेर प्रयोगकर्ता बनेकाहरुलाई लत छुटाउन पुनःस्थापना केन्द्रमा लैजाने, विभिन्न रोग लागेको भए उपचार गर्ने, सीप सिकाएर आत्मनिर्भर बनाउन प्रेरित गर्ने र उनीहरुलाई समाजमा पुनःस्थापना गर्नेसम्मका काम स्थानीय सरकारले गर्ने पनि नगरप्रमुख थापाले बताउनुभयो ।

"नगरपालिका उपप्रमुख रेगिना भट्टराईका अनुसार लागुऔषधको कुलतमा फस्ने किशोरकिशोरीको सङ्ख्या अधिक रहेकाले जोखिमयुक्त उमेर समूहका सबैमा यो कार्यक्रम पु र्‍याइने बताउनुभयो । समाजमा लागुऔषधको समस्या जटिल बनेको छ र यो टुलुटुलु हेरेर बस्न सकिने अवस्था छैन", उहाँले भन्नुभयो ।

अभिभावक तथा समाजको सहयोग रहेमा लागुऔषध प्रयोगलाई न्यूनीकरण गर्न सकिने भएकाले नगरपालिकाको यो कार्यक्रम समुदायमा आधारित रहने पनि उपप्रमुख भट्टराईको भनाइ छ । सबै राजनीतिक दल र दमकका सामाजिक सङ्घ संस्थाले यसमा साथ दिने प्रतिबद्धता जनाएको पनि उहाँले जानकारी दिनुभएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामाका अनुसार पछिल्लो समयमा लागुऔषध प्रयोगको समस्या यस क्षेत्रमा जटिल समस्या बन्दै गएकाले यसको नियन्त्रणका लागि समुदायको प्रयास नै महत्वपूर्ण हुने बताउनुभयो । यसले चोरीका घटना तथा अपराधिक घटनासमेत बढ्न सक्ने भएकाले सबै सचेत भएर यसको न्यूनीकरणमा लाग्नु राम्रो भएको उहाँको भनाइ छ । "हामी स्थानीय सरकारसँग समन्वय गरेर काम गरिरहेका छौं र यसले थप अभियान प्रभावकारी बन्ने ठानेका छौं", उहाँले भन्नुभयो ।

भारतसँग सीमा जोडिएकाले झापामा भारतबाट विभिन्न नयाँनयाँ उपाय लगाएर लागुऔषध कारोबारीहरुले लागुऔषध भित्र्याउने गरेको प्रहरीको भनाइ छ । प्रहरीले सीमामा कडाइ गरेको बताउने गरे पनि १ सय ४४ किलोमिटर लामो खुला सीमाको फाइदा उठाएर लागुऔषध भित्रिने गरेको छ ।