लक्ष्मण पौडेल
भैरहवा, मङ्सिर २७ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले ‘राडार गन’ मार्फत सवारी साधनको गति मापन र कारबाही सुरु गरेको छ । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न ठाउँमा ‘राडार गन’ मार्फत चेकजाँच सुरु गरिएको र तीव्र गतिमा सवारी चलाउनेलाई कारबाही गरिने जनाएको छ ।
करिब एक वर्ष रोकिएको ‘राडर गन’मार्फत चेकजाँच पुन सुरु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक बजिरसिंह बिष्टले अहिले पुनः चेकजाँच सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार आइतबार पहिलो दिन तीव्र गतिमा सवारी चलाउने कार र मोटरसाइकल गरी ३२ र सोमबार ३५ वटा सवारी कारबाहीमा परेका छन् ।
"जाडोयाम सुरु भइसक्यो, साँझबिहान हुस्सुले सवारीलाई गति तय गर्न कठिन हुन्छ । यस्तो बेला तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक हुन्छ", उहाँले भन्नुभयो, "तीव्र गति नियन्त्रण र दुर्घटना न्यूनीकरण गर्न लागिपरेका छौं ।"
बिष्टले ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि अभियान नै चलाएको बताउँदै यदि तीव्र गतिमा सवारी चलाएको पाइए ठाउँको ठाउँ कारबाही गरिने बताउनुभयो । "सवारी कति स्पिडमा छ भन्ने ‘राडार गन’ले जानकारी दिन्छ", उहाँले भन्नुभयो, "तोकिएभन्दा बढी गतिमा चलाएको पायौं भने तुरुन्तै कारबाही गर्छौं ।" उहाँले तीव्र गतिका कारण धेरै सवारी दुर्घटना हुने गरेको बताउनुभयो । यस्ता दुर्घटनामा कैयौं नागरिकको ज्यान जाने गरेको छ ।
"रुपन्देहीका विभिन्न सडक खण्डहरुमा भइरहेको सवारी दुर्घटनाका विभिन्न कारणमध्ये तीव्र गति मुख्य हो", बिष्टले भन्नुभयो, "हाम्रो अनुसन्धानबाट करिब ७० प्रतिशत सवारी दुर्घटना तीव्र गतिकै कारण हुने गरेको छ । यसलाई न्यूनीकरण गर्न हामी लागिपरेका छौं ।" बिष्टले सवारी दुर्घटना न्युनीकरण गर्न ‘राडार गन’ सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, "अहिले हामीले ‘राडार गन’ मार्फत् सवारीको गति मापन गरिरहेका छौं, तीव्र गतिमा सवारी चलाउनेलाई धमाधम कारबाही गरेका छौं । यसबाट धेरैजनालाई सचेतना फैलिएको छ । दुर्घटना न्यूनीकरण हुने हाम्रो अपेक्षा छ ।" "तीव्र गतिले चालकमात्रै होइन, सवारीमा सवार यात्रु, पैदलयात्रीलाई समेत जोखिम हुने गरेको छ", बिष्टले भन्नुभयो, "दुर्घटना हुँदा मानवीयसँगै आर्थिक क्षति पनि धेरे हुन्छ ।" जिल्ला अन्तर्गतका विभिन्न सडक खण्डहरुमा सवारी दुर्घटना भएपछि यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चेकिङको क्रममा राडार गन प्रयोगमा ल्याएको हो । नियम अनुसार प्रतिघण्टा ६० किमि मात्रै सवारी कुदाउन पाउने प्रावधान छ । योभन्दा बढी स्पिड चलाए ट्राफिकले तुरुन्त कारबाही गर्ने गरेको छ । ट्राफिक कारबाहीमा पर्नेमा दुई र चारपाङ्ग्रे सवारी बढी छन् ।
रुपन्देही ट्राफिकले सवारी चलाउँदा सडकका ट्राफिक चिह्न तथा लेनलाई विशेष ध्यान दिन, अगाडि राम्रोसँग हेरेर दायाँ–बायाँको लुकिङ ग्लासमा ध्यान दिन र स्पिड कन्ट्रोल गर्न अनुरोध गरेको छ । जाडो याममा हुस्सुले दुर्घटनाको जोखिम निम्त्याउने भएकोले सवारी चलाउँदा र पैदलयात्रा गर्दा सचेत हुन ट्राफिकले अनुरोध गरेको छ । अहिले ट्राफिकले हप्तामा दुई दिन चालक, सहचालक र दुई दिन विभिन्न सङ्घसंस्था तथा स्कुलहरुमा ट्राफिक नियमबारे सचेतनामूलक कार्यक्रम गरिरहेको छ ।