मुरारी अधिकारी
धादिङ, मङ्सिर २७ गते । धादिङ । धादिङ अस्पताल एक सय शय्याको बनाइने बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलले बताउनुभएको छ ।
धादिङ अस्पतालको ४७ औँ वार्षिकाेत्सवलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री जमरकट्टेल हाल सञ्चालनमा आइरहेको ५० शय्यालाई थप गरेर एक सय शय्याको अस्पताल बनाइने बताउनुभएको हो । धादिङसँगै त्रिशूली, सिन्धुलीलगायतका अस्पताललाई पनि एक सय शय्या बनाइने उहाँले बताउनुभयो । यस्तो बताउनुभएको हो ।
एक सय शय्याको बनाउँदा प्रदेशलाई पर्ने आर्थिक भार सबैलाई मध्यनजर गरेर धादिङ अस्पताललाई एक सय शय्याको बनाउने निर्णय गरिएको पनि मुख्यमन्त्री जमरकट्टेलको भनाइ थियो । पुस ३ गते क्याबिनेटको बैठक बस्ने र त्यसपछि एक सय शय्याको तत्कालै प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो । पहिलेको भन्दा धादिङ अस्पतालको स्तराेन्नति आकाश पातालको फरक भएको पनि उहाँको दाबी थियो । सीमित स्राेत साधनमा पनि गुणस्तरीय सेवा प्रदान गरेकोमा स्वास्थ्यकर्मीलगायत अस्पताल प्रशासनलाई धन्यवाद दिनुभयो ।
व्यवस्थापकीय पक्षमा गर्नुपर्ने सहयोग बागमती प्रदेश सरकार सदैव तयार रहेको पनि बताउनुभयो । यस्तै विकास निर्माण र सिङ्गो देशको विकासको लागि सङ्घीय संरचना आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय बजारमा सङ्घीय व्यवस्थाको विषयमा नकारात्मक हल्लाहरू बाहिर आएको बताउनुभयो ।
प्रदेशले के गर्यो, यो व्यवस्थाले के गर्याे भन्नेहरूलाई यही सङ्घीय संरचनाले गरेको विकासले जवाफ दिएको बताउनुभयो । सङ्घीय शासन प्रणाली नभएको भए धादिङ अस्पताललगायत अन्य विकासका कामहरू यति चाँडो सम्भव नभएको उहाँको भनाइ थियो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले कुनै पनि बिरामीहरू पैसाको अभावमा वञ्चित हुन नहुने बताउनुभयो । मुख्यमन्त्री जनतासँग कार्यक्रमको लागि प्रदेश सरकारले ३२ लाख खर्च गरेकोले अस्पतालबाट प्रदान गर्ने सेवा सुविधा सबै प्रदान गर्न अस्पताल प्रशासनसँग आग्रह गर्नुभयो ।