• १५ वैशाख २०८१, शनिबार

बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाउन थालियो

blog

काठमाडौँ, मङ्सिर २७ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलले समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाउने क्रम बढेको छ । निर्वाचन कानुनले बन्दसूचीमा नाम समावेश भएका व्यक्ति राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय निर्वाचनमा उम्मेदवार हुन बन्देज लगाएको छ । 

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा भएयता तीन वटा दलले बन्दसूचीबाट उम्मेदवारको नाम हटाउन आयोगलाई आग्रह गरेका हुन् । महाशाखाका प्रमुखसमेत रहनुभएका सहसचिव यज्ञप्रसाद भट्टराईले मङ्गलबार नेपाल समाजवादी पार्टीले उम्मेदवारको नाम हटाउन पत्राचार गरेको जानकारी दिनुभयो । सो दलले बन्दसूचीबाट एक जनाको नाम हटाउन आग्रह गरेको थियो । 

नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत बन्दसूचीबाट उम्मेदवारको नाम हटाउन पत्राचार गरेको छ । एकीकृत समाजवादीले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा बुझाएको १०२ जनाकै नाम बन्दसूचीबाट हटाउन आग्रह गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नपाउँदा एकीकृत समाजवादी राष्ट्रिय दल हुन सकेन । त्यसै गरी सो दलले सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फका दुई जना उम्मेदवारको नाम हटाउन आग्रह गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने प्रतिनिधि सभा सदस्यतर्फको एक उम्मेदवारलाई बन्दसूचीबाट हटाउन आग्रह गरेकोमा आयोग बैठकले सो दलको उम्मेदवारको नाम हटाइसकेको छ । राष्ट्रिय सभामा राप्रपाको प्रतिनिधित्व छैन । 

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फका उम्मेदवारको नाम आयोगमा बुझाएका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था गरेको छ । कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख भट्टराईले भन्नुभयो, “केही दलले एक/दुई जना गरेर यसअघि पनि नाम हटाएका छन् ।” 

उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनकै लागि दलले उम्मेदवारी दर्ता गराउनुअघिसम्म बन्दसूचीबाट नाम हटाउन पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दसूचीमा नाम हुँदाहुँदै उम्मेदवारी दर्ता गराउने प्रयास गरिए राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन पाउने छैनन् ।” राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने छ । सो निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता हुने छ । त्यसअघि राष्ट्रिय सभाका उम्मेदवारलाई सम्बन्धित दलले समानुपातिकतर्फको बन्दसूचीमा नाम राखेको भए हटाउनुपर्ने हुन्छ ।